सोलुखुम्बुस्थित प्रसिद्ध गोक्यो तालमा आत्महत्या गर्ने तयारी गरिरहेका एक चिनियाँ पर्यटकलाई नेपाल प्रहरीले सकुशल उद्धार गरेको छ।
पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपबाट खटिएको टोलीले चिनियाँ नागरिक छेई हुवाङलाई मंगलबार बिहान उद्धार गरेको हो। ३६ वर्षीय हुवाङले आफ्नै जन्मदिन (११ जुन) को दिन गोक्यो तालमा आत्महत्या गर्ने भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
हुवाङको सामाजिक सञ्जाल पोस्ट देखेपछि चीनमा रहेका उनको परिवार चिन्तित बनेका थिए। त्यसपछि उनीहरूले काठमाडौंस्थित चिनियाँ दूतावासलाई खबर गरेका थिए। दूतावासले नेपाल प्रहरीको पर्यटक प्रहरीलाई घटनाबारे जानकारी गराउँदै तत्काल उद्धारको अनुरोध गरेको थियो। साथै, पेम्बा शेर्पा नामक व्यक्तिले पनि घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए।
प्रहरी स्रोतका अनुसार, चिनियाँ दूतावासकै सहयोगमा हाई अल्टिच्युड हेलिकप्टरको व्यवस्था गरिएको थियो। उद्धार टोली घटनास्थलमा पुग्दा हुवाङ गोक्योको ‘थाङ्का इन होटल’मा थिए। होटल सञ्चालकले उनलाई सम्झाएर रोकिराखेका थिए, तर सुरुवातमा उनले प्रहरीको अनुरोध अस्वीकार गरेका थिए।
हुवाङले प्रहरीलाई भनेका थिए कि उनले भोलि अर्थात् जन्मदिनको दिन आत्महत्या गर्ने योजना बनाएका थिए। करिब आधा घण्टा लामो समझदारीपछि मात्र उनी काठमाडौं फर्कन तयार भएका थिए।हाल उनलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ र पर्यटक प्रहरी कार्यालय, भृकुटीमण्डपमा राखिएको छ। सोलुखुम्बुबाट काठमाडौँ ल्याएर प्रहरीले उनलाई दूतावासको जिम्मा लगाउने तयारी गरेको छ । हुवाङ गोक्यो स्थित थाङ्का इनमा बस्दै आएका थिए ।