झन्डै ७ करोड हिनामिना गरेको आरोपमा सांसदसहित १७ जना विरूद्ध मुद्दा दर्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा (एमाले) मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १६ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

धनुषाको औरही गाउँपालिका-२ स्थित १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि ठाकुरसहित १६ जना व्यक्ति र एक कम्पनीसहित १७ विरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुम्बिनी/डि एन्ड जेभी तथा डी एन्ड एन बिल्डर्स प्रालिका तत्कालीन प्रबन्धक निर्देशक हाल मधेस प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्रकुमार ठाकुर ठेक्का प्रक्रियामा सामेल भएको देखिएको छ।

औरही गाउँपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुवोधकुमार ठाकुर, वडा-१ का वडाध्यक्ष आशेश्वर यादव, वडा-२ का वडाध्यक्ष अमितकुमार यादवविरूद्ध मुद्दा दर्ता भएको हो।

त्यस्तै, औरही गाउँपालिका-३ का तत्कालीन वडाध्यक्ष गंगाप्रसाद यादव, वडा -४ का वडाध्यक्ष शिवनाय साह, वडा-५ का वडाध्यक्ष प्रमेश्वरकुमार मण्डल, वडा-६ को वडाध्यक्ष दिलिपकुमार साह, तत्कालीन इन्जिनियर सोनु साह, सब इन्जिनियर सन्तोषकुमार मण्डल, बिनितकुमार साह छन्।

गाउँपालिकाका तत्कालीन खरिदार मोहनकुमार मण्डल, मनोजकुमार यादव र लुम्बिनी बिल्डर्स प्रालिका तत्कालीन प्रबन्धक निर्देशक बिष्णुप्रसाद शर्मा र लुम्बिनी डि एन्ड एन जेभी विरूद्ध मुद्दा दर्ता गराइएको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

२०७७/०७८ को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रम अनुसार औरही गाउँपालिका-२ स्थित देउरी परवाहामा १५ शय्याको अस्पातल निर्माण गर्ने योजना बनेको थियो।

उनका अनुसार अस्पताल निर्माणका लागि २४ करोड ४३ लाख ५२ हजार ६५० बराबरको लागत अनुमान गरिएको थियो। सोही योजनाअनुसार २०७८ वैशाख १७ गते बोलपत्र पेस गर्न पहिलोपल्ट आह्वान गरिएको थियो। त्यसमा दुईपल्ट म्याद थप गरेर जेठ ३१ गतेसम्म आह्वानको समय तोकिएको देखियो।

१५ वटा बोलपत्रदातहरूमध्ये १३ असफल गरे/गराएको, लुम्बिनी /डि एन्ड एन, जेभी र समानन्तर/बबुल जेभीले दोस्रो पटक म्याद थप भएको अन्तिम समयमा बोलपत्र पेस गराएको देखिएको प्रवक्ता पौडेलले बताए।

यसरी सबैभन्दा कम अर्थात् १२ करोड ३५ लाख ५० हजार २४८ कबोल गरेको प्रतिष्ठा/धुलिखेल/ एक्सिस एसियन जेभीलाई प्राविधिक मूल्यांकनमा फेल गराई १९ करोड १४ लाख ६२ हजार ६३२ रूपैयाँ कबोल गरेको लुम्बिनी/ डि एन्ड एन जेभीलाई छनोट गरिएको देखिएको अख्तियारको भनाइ छ।

उक्त अस्पताल निर्माणमा ६ करोड ७९ लाख १२ हजार ३८३ रूपैयाँ हिनामिना हानिनोक्सानी तथा दुरूपयोग गराएको पुष्टि भएको अख्तियारले जनाएको छ। त्यसैले उक्त रकम बराबरको बिगो माग गरी सजायसहित मुद्दा दर्ता गरेको प्रवक्ता पौडेल बताउँछन्।

ठाकुरविरूद्ध भष्टाचार मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वत: निलम्बनमा परेको छ।