यी स्थानमा भारी वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। त्यस्तै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले बुधबार बिहान कोशी प्रदेश, मधेस र बागमती प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार गएको एक घन्टामा उदयपुरको चुरीमाइमा ४१.२ मिलिमिटर वर्षा भएको छ। सप्तरीको कल्याणपुरमा  १७.२ मिलिमिटर, रूपनी बजारमा १७ मिलिमिटर, सिरहाको लहानमा १२.४ मिलिमिटर, मोरङको विराटनगरमा १०.६ मिलिमीटर, धनकुटाको पाख्रिबासमा ५ मिलिमिटर वर्षा भएको छ।

सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक लगायतका ठाउँहरुमा छिटपुट वर्षा भएको छ। काठमाडौंमा पनि गएराति वर्षा भएको थियो। अहिले मौसम बदलीको अवस्था छ।

बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेशका एक-दुई स्थानमा भारी बर्षाको पनि वर्षाको सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पूर्वानुमान छ।

राति कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा राति भारी बर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।