विश्वबैंकको आर्थिक सहयोगमा ताल चोक–बेगनास सडक–खण्ड विस्तारको काम भइरहेको छ । निर्माणका क्रममा देखिएका स्थानीय समस्याका कारण सडक विस्तार कार्यमा विलम्ब भएपछि नगरप्रमुख धनराज आचार्यले मङ्गलवार पुनः स्थानीयहरूसँग परामर्श गरेपछि समस्या सुल्झिएको छ । सो क्रममा प्रमुख आचार्यले सडक विस्तार आयोजनाको अवलोकन निरीक्षण समेत गर्नुभएको छ ।
सडक निर्माण कार्यमा विलम्ब हुँदा त्यस क्षेत्रका उपभोक्ताहरूले निकै सास्ती बेहोर्नु परेको भन्दै नगर प्रमुख आचार्यले गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । साथै उहाँले निर्माण कार्य सम्पन्न नहुँदासम्म आवतजावतका सहज हुने व्यवस्था मिलाउन र निर्माण कार्य द्रुत गतिमा अघि बढाउन निर्माण पक्षलाई निर्देशन दिनुभएको छ ।
३.२८ कि.मी लम्बाइको ताल चोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा कल्भर्ट तथा पुलहरू निर्माण हुनेछन् । सडकको बिचमा १.५ मिटरको डिभाइडर, दुवै छेउमा २.५ मिटर पार्किङ स्पेस, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच हुनेछ ।