सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सुपर थ्रीको अन्तिम खेलमा नेपाली राष्ट्रिय महिला टोली थाइल्यान्डसँग ७८ रनले पराजित

नेपाली राष्ट्रिय महिला टोली आइसिसी महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिताको उपविजेता बनेको छ । छनोटअन्तर्गत सुपर थ्रीको मंगलबार भएको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको हो । जितसँगै आयोजक थाइल्यान्ड एसियन छनोटको विजेता बनेको छ । नेपाल र थाइल्यान्डले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । मैदानमा प्रवेश गर्नुअघि नै नेपाल र थाइल्यान्डले सुपर थ्रीको शीर्ष दुईमा रहँदै टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान पक्का गरिसकेका थिए ।

नेपालले सोमबार युएईमाथि सानदार जित निकाली पहिलोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको थियो । १८ वर्षको अन्तर्राष्ट्रिय यात्राको क्रममा नेपालले छैटौँ प्रयासमा एसियन छनोटबाट आइसिसी विश्वकप टी–२० को ग्लोबल छनोट स्थान सुरक्षित गरेको हो । सन् २०१६ को संस्करणदेखि नेपालले निरन्तर रूपमा टी–२० महिला विश्वकप छनोट खेलमा सहभागिता जनाइरहेको छ ।

यसअघिका टी–२० विश्वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिँदै आएको थियो । थाइल्यान्डमा विजेता हुने लक्ष्यका साथ सहभागी भएको नेपालले अन्तिम खेलमा ब्याटिङमा कमजोर प्रदर्शन गरेको थियो । थाइल्यान्डले पहिलो ब्याटिङ गरी २० ओभरमा दुई विकेट गुमाएर एक सय ५८ रनको योगफल बनायो । प्रत्युत्तरमा नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ८० रन जोड्दा ७८ रनको फराकिलो अन्तरले हारको सामना गर्‍यो ।

एसियन छनोटमा नेपालले समूह ‘सी’को विजेता हुँदै पहिलोपटक सुपर थ्रीमा स्थान बनाएको थियो । यसक्रममा नेपालले समूह चरणमा बहराइनमाथि दुईपटक जित निकालेको थियो । हङकङसँगको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो । समूहको अन्तिम खेलमा बहराइन र हङकङबिचको खेल वर्षाले रद्द हुँदा नेपाल भाग्यमानी ठहरियो । लिग चरणमा सर्वाधिक जित निकाल्ने टोलीका रूपमा नेपालले सुपर थ्री स्थान पक्का गरेको थियो ।

नेपालका पाँच खेलाडीको शून्य रन
एसियन छनोटको विजेता बन्न नेपालले एक सय ५९ रन पछ्याउनुपर्ने थियो । तर, नेपालका ब्याट्सम्यानले अनुभवी थाइल्यान्डको बलिङ सामना गर्न सकेन । थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित चार विकेट लिएपछि नेपालको ब्याटिङ कमजोर देखियो । ओनिचाले इनिङ्सको १८औँ ओभरमा ह्याट्रिक गरेकी हुन् । उनले १८.३ ओभरमा रोमा थापा, १८.४ ओभरमा ईश्वरी विष्ट र १८.५ ओभरमा रिया शर्माको विकेट लिँदै प्रतियोगितामै पहिलो ह्याट्रिक पूरा गरिन् । नेपालले एकै ओभरमा लगातार तीन विकेट गुमाउनुअघि ७५–६ को स्थिति बनाएको थियो ।

ओनिचको ह्याट्रिक ओभरपछि नेपाल ७५–८ मै रह्यो । रोमा, ईश्वरी र रिया डकआउट भए । ईश्वरी र रिया गोल्डेन डकआउट भए । ओनिचले चार ओभरमा एक मेडन राखी ११ रन खर्चेर सर्वाधिक चार विकेट लिएकी थिइन् । यसैगरी, थिपाचले चार ओभरमा एक मेडन राखी १४ रन खर्चेर तीन विकेट लिँदा नेपाल लक्ष्यसम्म पुग्न सकेन । समग्रमा नेपालको ब्याटिङ इनिङ्समा पाँच खेलाडीले रनै बनाउन सकेनन् । उपकप्तान पूजा महतो पनि शून्य रनमा पेभेलियन फर्केकी थिइन् ।

कविताको सर्वाधिक २४ रन
नेपालले लक्ष्य पछ्याउँदा सुरुवातदेखि कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । तेस्रो क्रममा ब्याटिङ गरेकी कविता कुँवरले सर्वाधिक २४ रनको योगदान दिइन् । उनले ३३ बलमा एक चौका प्रहार गरेकी थिइन् । यसैगरी, रजमती ऐरीले २७ बल खेलेर दुई चौकाको सहयोगमा २० रन जोडिन् । पूर्वकप्तान रुबिना क्षेत्रीले १६ बलमा १२ रन जोडिन् । नेपाललाई ग्लोबल छनोटमा पुर्‍याउन महŒवपूर्ण भूमिका निर्वाह गरेकी कप्तान इन्दु बर्माले थाइल्यान्डविरुद्ध १५ बलमा सात रनको योगदान दिइन् ।

थाइल्यान्डको ब्याटिङमा दुई अर्धशतक
थाइल्यान्डको बलियो ब्याटिङमा दुई ब्याट्सम्यानाले अर्धशतक बनाए । ओपनर नतायाले अर्धशतक प्रहार गरिन् । उनले ५० रन जोड्न ४२ बल खेलेर ५ चौका प्रहार गरेकी थिइन् । यसैगरी, कोन्चारोनीले २८ बलमा ५० रन बनाइन् । नटआउट रहेकी उनले आठ चौका प्रहार गरेकी थिइन् । थाइल्यान्डले पहिलो विकेटका लागि १२.४ ओभरमा ७५ रन जोडेको थियो । ओपनर अफिसराले ४३ बलमा २९ रन बनाइन् । बलिङमा नेपालकी राजमती र मनीषा उपाध्यायले समान एक विकेट हात पारे । कविता, पूजा, ईश्वरी, राजमती र मनीषाले प्रतिओभर आठ रनरेटमा बलिङ गरेका थिए ।