पोखरामा पूर्ण खोप वडा सुनिश्चितता घोषणा समारोह सम्पन्न; बरालको अध्यक्षता, उपमेयर गुरुङ प्रमुख अतिथि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका वडा नम्बर ८ लाई आज एक समारोहका बीच पूर्ण खोप सुनिश्चित वडाको रूपमा घोषणा गरिएको छ। वडा खोप समन्वय समिति, पोखरा-८, कास्कीद्वारा आयोजित कार्यक्रममा वडा कार्यालय, न्युरोडमा आयोजित घोषणा समारोहमा वडाले पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता पत्र समेत जारी गरेको छ।

वडा नम्बर ८ का अध्यक्ष रूद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो। वडा नम्बर ७ का अध्यक्ष राम मोहन आचार्य र अतिथि पोखरा महानगरपालिका  शहरी स्वास्थ्य केन्द्र महाशाखा प्रमुख भरत पौडेल विशिष्ट अतिथि थिए। कार्यक्रममा वडा सदस्य गोविन्द बराल, हिराकाजी श्रेष्ठ, पार्वती के.सी. लक्ष्मि वि.क र वडा सचिव क्षंकनाथ पौडेललगायतको उपस्थिति थियो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै वडा सदस्य गोविन्द बरालले पूर्ण खोप सुनिश्चितताको लागि चालिएका कदमबारे जानकारी गराउनुभयो।

जारी गरिएको प्रतिबद्धता पत्रमा उल्लेख भएअनुसार, २०८२ साल जेठ ४ गते वडाको सेवा क्षेत्रभित्र रहेका १६ देखी ५९ महिनासम्मका बालबालिकाहरूले १५ महिना भित्र पाउनु सवैखोपहरु प्राप्त गरेको सुनिश्चितता पश्चात् घोषणा कार्यक्रम गरिएको हो ।

यस पूर्ण खोप घोषणा तथा दिगोपना कार्यक्रममा विभिन्न आमा समूह, महिला समूह, दलित, जनजाति, अल्पसंख्यक, विपन्न प्रतिनिधि, स्वास्थ्य संस्था सञ्चालक तथा व्यवस्थापन समिति, वडा खोप समन्वय समितिका पदाधिकारी, राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी, विद्यार्थी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समूह, महिला सञ्जाल, मजदूर, युवा क्लबका सदस्यहरू, व्यापारी लगायत सम्पूर्ण उपस्थितिले वडा नम्बर ८ लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अध्यक्ष रूद्रनाथ बरालले वडालाई पूर्ण खोप सुनिश्चित बनाउन सबैको सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभयो। प्रमुख अतिथि उपमेयर मञ्जुदेवी गुरुङले वडाको यो उपलब्धि अन्य वडाका लागि पनि अनुकरणीय रहेको बताउनुभयो।

उक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको छ भने कार्यक्रममा “खोप: शुल्क पाईंदैन”, “खोप सुरक्षित हुन्छ” र “खोपले जिवन रक्षा गर्छ” जस्ता नाराहरू सहित खोपको महत्वबारे जानकारीमूलक सन्देशहरू प्रस्तुत गरिएको थियो।

यो घोषणासँगै पोखरा महानगरपालिका वडा नम्बर ८ ले आफ्ना सबै बालबालिकालाई खोपको माध्यमबाट सुरक्षित राख्न एक महत्वपूर्ण पाइला चालेको छ।