सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्।
उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ।
संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने र समकक्षी मन्त्रीहरूसँग साइडलाइन भेटवार्ताको व्यवस्था गरिएको जानकारी छ। मन्त्री राणाका अनुसार संवादको तयारी अन्तिम चरणमा पुगेको छ। उनले तयारी स्वरूप सरकारले करिब १० वटा पूर्वसंवाद कार्यक्रम आयोजना गरिएको बताइन् । जसअन्तर्गत जुम्लामा हिमाली डाइलगु, काठमाडौँमा ‘वायु संवादु, प्री संवाद लगायत रहेका छन्।
तीन दिनसम्म सञ्चालन हुने संवाद कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। परराष्ट्रमन्त्री डा. राणाले पाहुनाहरूलाई स्वागत गर्ने कार्यक्रम रहेको तथा संवादसम्बन्धी चिनारीयुक्त भिडियो पनि प्रस्तुत गरिने जानकारी दिइन्।
त्यस्तै, चीन र भारतबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिहरू तथा कोप २९ का अध्यक्ष एवं अजरबैजानका राष्ट्रपतिको जलवायुसम्बन्धी प्रतिनिधिले विशेष सम्बोधन गर्नेछन्। संवादमा १.५ डिग्री सेल्सियसभन्दा कम तापक्रम वृद्धिलाई सीमित गर्ने, पर्वतीय अर्थतन्त्रलाई दिगो बनाउने, टापुहरूमा भएको हानि र क्षति, लैङ्गिक र अन्तरपुस्तीय समानता लगायतका १२ वटा विषयमा छलफल हुने उनले बताइन् ।