कोरिया गएका प्रवासी नेपालीका परिवारका लागि पोखरामा वित्तीय साक्षरता कार्यक्रम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा ,कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत रहेको K-HAMI (Happy Migration) परियोजनाको प्रायोजनमा अङ्कुर नेपाल, पोखराको सहकार्यमा एपिएसमार्फत कोरियामा गएका प्रवासी नेपालीका परिवारका लागि वित्तीय साक्षरता कार्यक्रम गरिएको छ।
कार्यक्रम शनिबार पोखराको न्युरोडस्थित दीप सागर होटलमा आयोजना गरिएको हो। कार्यक्रममा कोरियामा रोजगारमा गएका प्रवासी नेपालीका परिवारका १२२ जना सहभागी थिए।
कार्यक्रममा श्रम तथा रोजगार कार्यालय कास्कीका प्रमुख सुरेश ढकाल प्रमुख अतिथि रहेका थिए भने अध्यक्षता हितकाजी गुरुङले गरेका थिए । कार्यक्रमका संयोजक सुमन बहादर थापा थिए भने सञ्चालन आशीष पाण्डेले गरेका थिए ।
कार्यक्रममा प्रशिक्षक अनुज बास्तोलाले वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी दिए । प्रशिक्षक तथा संयोजक सुमन बहादुर थापा भने कोरियामा कार्यरत श्रमिकहरूप्रति परिवारको जिम्मेवारी र त्यसको व्यवस्थापनबारे जानकारी दिए ।
त्यस्तै, दक्षिण कोरियाबाट फर्किएर सफल व्यवसाय सञ्चालन गरिरहनुभएका शिव बराल र हिमानी गुरुङले आफ्ना प्रेरणादायी सफलताको कथा सुनाउँदै नेपालमै अवसर खोजेर अघि बढ्न सकिने सन्देश दिए।
कार्यक्रमको उद्देश्य प्रवासी नेपालीको कमाइको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि परिवारलाई आवश्यक ज्ञान र सीप प्रदान गर्ने आयोजकले बताएका छन्।
यस्तो कार्यक्रमले विदेशमा रहेका नेपाली श्रमिकको परिवारमा वित्तीय अनुशासन र योजनाको विकासमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।