पोखरा, – नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले आउँदो जेठ १५ गते भव्य रूपमा अधिवेशन गर्ने तयारी गरेको छ। महानगर कमिटीले अधिवेशनको तयारी र निर्णय गर्न आज पार्टी कार्यालयमा बैठक सम्पन्न गरेको छ, जसको अध्यक्षता प्रेम थापाले गर्नुभएको थियो।
उक्त कार्यक्रममा नेकपा (एस) का प्रभावशाली नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो। श्रीनाथ बराल प्रमुख अतिथि र तुल बहादुर गुरुङ विशेष अतिथिको रूपमा सहभागी हुनुभएको थियो। गण्डकी प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपाली, उपाध्यक्ष मुक्ति पैडेल, उपसचिव विवेक भुजेल र जिल्ला अध्यक्ष खड्क हमाललगायतका नेताहरूले पनि अधिवेशन भव्य रूपमा सम्पन्न हुनुपर्ने तर्क राखेका थिए। कार्यक्रमको सञ्चालन सुरज अधिकारी ‘बर्जर’ले गर्ने भएको थियो।
बैठकमा बोल्दै महानगर संयोजक प्रेम थापाले देशको वर्तमान संविधानमा संशोधनको आवश्यकता औंल्याउनुभयो। उहाँले राष्ट्रपतिलाई कार्यकारी प्रमुख बनाउनुपर्ने, प्रदेशहरूलाई पूर्ण कार्यकारी अधिकार प्रदान गर्नुपर्ने र देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्नुपर्ने प्रस्तावहरू अघि सार्नुभयो। “प्रदेशलाई बलियो बनाउन अधिकार चाहिन्छ। रोजगारीको अभावमा युवाहरू विदेश पलायन भइरहेका छन्, यसलाई रोक्न आर्थिक संरचना र संविधान दुवैमा व्यापक सुधार आवश्यक छ,” थापाले बताउनुभयो।
नेकपा (एस) पोखराले यो अधिवेशनलाई पार्टी संगठनलाई थप सुदृढ बनाउने र वैचारिक मार्गदर्शन प्रदान गर्ने महत्वपूर्ण अवसरको रूपमा लिएको छ। अधिवेशनले पार्टी संगठनमा नयाँ ऊर्जा र स्पष्ट कार्यदिशा प्रदान गर्ने अपेक्षा गरिएको छ।