पोखरा महानगरपालिका वडा नं ८ मा तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीयस्तरमा सीप विकास र आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित आयोजित तालिम वडा अध्यक्ष रूद्रनाथ बरालको संयोजनमा सम्पन्न भएको हो।
कार्यक्रमको सञ्चालन वडा सचिव झंमकनाथ पौडेलले गर्नुभएको थियो।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका मेयर धनराज आचार्य, विशेष अतिथि वडा नं ७ का अध्यक्ष राम मोहन आचार्य तथा वडा सदस्यहरू पार्वती के.सी., लक्ष्मी बी.के., गोविन्द बराल, हिराकाजी श्रेष्ठलगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।
प्रशिक्षक सोनल बोगटीले तालिममा सहभागी ३५ जनालाई कुखुराको मासुको अचार, टिम्मुरको छोप, तितेकरेलाको अचार लगायत स्वादिलो र लोकप्रिय परिकारहरू तयार पार्ने सीप प्रदान गर्नुभएको थियो। सहभागीहरूको उत्साह र सक्रियता उल्लेखनीय रहेको आयोजकले जनाएको छ।
मेयर आचार्यले वर्तमान प्रविधि युगमा मोबाइल र सामाजिक सञ्जालमा सीमित नबसी सीप सिकेर उत्पादनमुखी क्रियाकलापमा लाग्नुपर्ने आवश्यकता औंल्याउँदै युवायुवती र गृहिणीहरूलाई घरमै बसेर आत्मनिर्भर बन्न प्रेरित गर्नुभयो।
वडा अध्यक्ष बरालले वडावासीका हरेक समस्या र आवश्यकताप्रति आफू सधैं संवेदनशील रहेको उल्लेख गर्दै आपतकालीन अवस्थामा आर्थिक, भौतिक तथा नैतिक रूपमा साथ दिन तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।
सहभागी विना देवकोटा ढकालले सिकाइको अवसर उपलब्ध गराएकोमा आयोजकप्रति आभार प्रकट गर्दै तालिमबाट पाएको ज्ञान भविष्यमा स्वरोजगारमा रूपान्तरण गर्ने दृढता व्यक्त गर्नुभयो।
यस तालिममार्फत स्थानीय स्तरमा लघु उद्यम र स्वरोजगारका सम्भावना मजबुत हुने अपेक्षा गरिएको छ।