श्री जनजागृति माध्यमिक विद्यालयले नयाँ बस खरिद, पोखरा महानगरपालिकाबाट १५ लाखको सहयोग

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिका–१८ स्थित श्री जनजागृति माध्यमिक विद्यालयले विद्यार्थीहरूको सहज र सुरक्षित यातायात व्यवस्थाका लागि नयाँ विद्यालय बस खरिद गरेको छ। कुल ३० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो बसमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक यम बा थापाले जानकारी दिनुभयो।

बस हस्तान्तरणको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य सहभागी हुनुहुन्थ्यो। साथै वडा नं १८ का अध्यक्ष शिवप्रसाद तिमिल्सेना, शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मेयर धनराज आचार्यले सामुदायिक विद्यालयको विकासका लागि महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी हुँदै गएको उल्लेख गर्नुभयो। “शिक्षाको गुणस्तर सुधारसँगै पूर्वाधार विकासमा पनि महानगरले निरन्तर प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो, “यस्ता योजनाले विद्यार्थीको शिक्षामा थप सकारात्मक प्रभाव पार्नेछ।”

वडा अध्यक्ष शिवप्रसाद तिमिल्सेनाले विद्यालयको सक्रियता र योजनागत कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा पनि वडा कार्यालयबाट आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो।

शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयहरूमा सुविधा सम्पन्न सेवा विस्तार गर्न महानगरपालिका सधैं तत्पर रहेको भन्दै, विद्यालयहरूलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने दिशामा यस्ता सहयोग फलदायी हुने विश्वास व्यक्त गर्नुभयो।

प्रधानाध्यापक थापाले विद्यालय बस खरिदमा आर्थिक सहयोग उपलब्ध गराउने महानगरपालिका तथा सरोकारवालाप्रति आभार प्रकट गर्दै, नयाँ बसले विद्यालय आउजाउ गर्ने विद्यार्थीहरूको संख्या बढ्ने र शिक्षामा पहुँच अझ सहज हुने बताए।

उक्त बस खरिदसँगै विद्यालयले विद्यार्थीहरूको पहुँच वृद्धि, भर्ना दरमा सुधार र गुणस्तरीय शिक्षाको आधार तयार पार्ने लक्ष्य लिएको छ। सामुदायिक सहभागिता र स्थानीय सरकारको सहकार्यबाट शिक्षा क्षेत्रमा उल्लेखनीय परिवर्तन सम्भव छ भन्ने उदाहरणका रूपमा यो कदमलाई लिइएको छ।