पोखरा,नेकपा (एमाले) कास्की जिल्ला कमिटीको चौथो पूर्ण बैठक जिल्ला पार्टी कार्यालय, शान्तिबनमा निरन्तर रूपमा जारी छ। बैठकमा संगठनात्मक सुदृढीकरण, समसामयिक राजनीतिक परिदृश्य, र आगामी रणनीतिबारे व्यापक छलफल भइरहेको छ।
बैठकमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा पूर्व गृह, जनसंख्या तथा स्वास्थ्य मन्त्री श्रद्धेय नेता खगराज अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। यस्तै, पार्टी केन्द्रीय सदस्य तथा कास्की इञ्चार्ज कृष्ण थापा, केन्द्रीय सदस्य तथा एमाले कास्की-३ र युवा विभागका केन्द्रीय इञ्चार्ज राजीव पहारी, कास्की-१ का इञ्चार्ज चुडामणि जङ्गली लगायत नेताहरूको विशेष उपस्थिति रहेको छ।
बैठक नेकपा (एमाले) कास्की जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा तथा पार्टी सचिव दर्शन लामा र उपाध्यक्ष भेषराज उपाध्यायको सञ्चालनमा सम्पन्न भइरहेको छ।
बैठकमा जिल्ला कमिटीका १२३ जना सदस्य, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्य, विभिन्न पालिका र विशेष इलाका कमिटीका अध्यक्षहरू, तथा ७२ वटा वडा कमिटीका इञ्चार्जहरूले निर्धारित विषयहरूमा लिखित प्रतिवेदनसहित रिपोर्टिङ गरेका छन्।
बैठक भोलि बैशाख २० गतेसम्म जारी रहनेछ। भोलिको अन्तिम दिन बैठकले जिल्ला कमिटीको पूर्णता, क्षेत्रीय तथा प्रदेश समन्वय कमिटी, जिल्ला सल्लाहकार कमिटी, २७ वटा विभाग, २२ वटा जनसंगठनका इञ्चार्जहरू तथा ११ सदस्यीय सचिवालयको गठन र विस्तार गर्नेछ। साथै, समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू पनि पारित गरिने जनाइएको छ।
बैठकका सम्बन्धमा जानकारी जिल्ला सचिवालय सदस्य झपटराना भाटले दिनुभयो।