पोखरा,नेकपा (एकीकृत समाजवादी) गण्डकी प्रदेश कमिटीले आज गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेट गरी औपचारिक मागपत्र बुझाएको छ। देशभरका सबै प्रदेशमा पार्टीले समान प्रकृतिको मागपत्र बुझाउँदै आएको सन्दर्भमा गण्डकी प्रदेशमा पनि जनजीविका, उत्पादन, रोजगार र सुशासनका सवाललाई प्राथमिकतामा राख्दै सरकारको ध्यानाकर्षण गराइएको हो।
पार्टीका केन्द्रीय सचिव श्रीनाथ वरालको उपस्थितिमा प्रदेश अध्यक्ष कृष्ण नेपाली, सचिव ठाकुर शर्मा लगायत नेताहरूले उक्त मागपत्र मुख्यमन्त्री पाण्डेलाई हस्तान्तरण गरेका हुन्।
भेटका क्रममा नेकपा (एस) नेताहरूले गण्डकी प्रदेशमा बढ्दो बेरोजगारी, उत्पादन क्षमतामा आएको गिरावट, जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार असफल देखिएको भन्दै सार्वजनिक सेवा प्रवाह सुधार गर्न तत्काल कदम चाल्न आग्रह गरे।
मुख्यमन्त्री पाण्डेले पार्टीका प्रतिनिधिमण्डलद्वारा उठाइएका सुझाव र मागलाई सकारात्मक रूपमा लिँदै, सरोकारका विषयमा यथासक्य चाँडो आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।