पोखरा, वैशाख १९ – सडक सुरक्षालाई प्रभावकारी बनाउन नेकपा (एकीकृत समाजवादी) पोखरा महानगर कमिटीले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई डिभाइडर व्यवस्थापनका लागि आवश्यक डोरी हस्तान्तरण गरेको छ।
कार्यवाहक अध्यक्ष सालिक बरालको नेतृत्वमा सचिव सुरज अधिकारी, कार्यालय सदस्य सूर्य केसी तथा आईसीटीयू (ICTU) का नेताहरूको सहभागितामा ट्राफिक कार्यालयमा सामग्री हस्तान्तरण गरिएको हो।
बरालले शहरको ट्राफिक व्यवस्था सुधारका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै, पार्टीको तर्फबाट यस्ता सहयोग निरन्तर जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।
जिल्ला ट्राफिक कार्यालयले हस्तान्तरण गरिएका सामग्रीले व्यस्त सडकहरूमा डिभाइडर व्यवस्थापन र सवारी सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
पोखरा महानगर क्षेत्रमा दिनप्रतिदिन बढ्दो सवारी चापसँगै ट्राफिक व्यवस्थापन जटिल बन्दै गइरहेका बेला गरिएको यो सहयोगलाई कार्यालयले सकारात्मक पहलको रूपमा लिएको छ।