प्रविधि क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् लगायत पूर्वाधारको विकास भएकाले अब सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।

उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए ।

‘हाम्रो मुलुक उर्बर र जीवनमय छ । यहाँ लगानीको प्रचुर सम्भावना छ । हामी हाम्रै पालामा केही गर्न सक्छौं भन्ने आत्मविशवासका साथ काम गरौं । हाम्रो यात्रा अग्रगामी कदमतर्फ अवश्य बढ्नेछ,’ प्रधानमन्त्री ओलीले भने

प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको डेटा प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरूका लागि सूचना प्रविधिको विकास आफैंमा जवाफ भएको टिप्पणी गरे ।

‘एक लाइन टेलिफोन पाउन मन्त्रीको तोक लगाउनुपर्ने अवस्थाबाट हामी धेरै अघि बढिसकेका छौं । अन्तरक्षिमा पनि आफ्नै स्याटेलाइट पठाउने प्रयास सुरु भएको छ । यस क्षेत्रमा नयाँ पुस्ताका एक सय एक हस्ती तयार भइसकेका छन्,’ उनले भने, ‘हामी आत्मविश्वासका अघि बढौं । सूचना प्रविधिका क्षेत्रमा थप दक्ष जनशक्ति उत्पादन र तालिममा जोड दिँदै जानेछौं ।

उनले सूचना र प्रविधिको दुरुपयोग गरेर मान्छेको हुर्मत लिने प्रवृत्तिबाट भने सचेत हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्लु बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे । कार्यक्रममा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्रा.डा. शशीधरराम जोशीसहित विभिन्न व्यक्ति र संस्थालाई पुरस्कृत गरिएको थियो ।