पोखरा महानगरबाट ५१ करोडको खानेपानी आयोजना, भरतपोखरी–कृष्टी–निर्मलपोखरी लाभान्वित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पोखरा,  – पोखरा महानगरपालिकाले भरतपोखरी–कृष्टी–निर्मलपोखरी सहलगानी खानेपानी उपभोक्ता समितिलाई लागत साझेदारीमा ५१ करोड ७७ लाख रुपैयाँ स्वीकृत गरेपछि स्थानियवासी उत्साहित भएका छन्।

पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा स्वीकृत गरिएको उक्त रकम परियोजना निर्माणको लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। परियोजना अन्तर्गत दीर्घकालीन र दिगो खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ।

उपभोक्ता समितिका अध्यक्ष दाताराम आचार्यले पोखरा महानगर परिवारलाई धन्यवाद व्यक्त गर्दै परियोजना स्वीकृतिपछि स्थानीय बासिन्दाहरूमा आशा र उत्साह थपिएको बताएका छन्। उनका अनुसार, आयोजनाबाट भरतपोखरी, कृष्टी, निर्मलपोखरी क्षेत्रका सयौं घरधुरी लाभान्वित हुनेछन्।

“पोखरा महानगरपालिकाले विकासमा साझेदारी गर्ने प्रतिबद्धता र जनताको आवश्यकतालाई प्राथमिकता दिएको यस कदमले हाम्रो गाउँमा नयाँ ऊर्जा थपेको छ,” अध्यक्ष आचार्यले भने।

यो आयोजनालाई सहलगानी मोडेलमा अगाडि बढाइएको छ, जसमा उपभोक्ता समितिको सक्रियता, जनसहभागिता, तथा महानगरको सहयोगमार्फत खानेपानीको पहुँच सुधार गर्न खोजिएको छ। खानेपानीको समस्या दीर्घकालदेखि झेल्दै आएका स्थानीयवासीहरूले अब सुरक्षित र पर्याप्त पानी पाउने आशा व्यक्त गरेका छन्।