राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री एबम सांसद धवल शमशेर राणा आइतबार राती हाजिरी जमानीमा छुटेका छन् ।
राजावादीहरुले गठन गरेको संयुक्त जन-आन्दोलन परिचालन समितिका संयोजक समेत रहेका राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा आइतबार राती परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत राना
र राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्रलाई प्रहरीले पक्राउ गरेको थियो ।
राणा मुखको क्यान्सर रोगबाट पिडित व्यक्ति हुन् र उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता मात्रै उनी काठमाडौं फर्केका थिए । उनै राणालाई उपचार गराउन भारत लैजान सरकारले नदिएको भन्दै संयुक्त जनआन्दोदन समितिका प्रवक्ता स्वागत नेपालले शुक्रबार एक विज्ञप्ति समेत निकालेका थिए ।
उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो । यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो ।
प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए । यो प्रदर्शनमा मिश्र र राणा समेत आफैं तीनकुनेमा उपस्थित भएका थिए ।
प्रदर्शन हिंसात्मक बनेपछि उनीहरू दुवै जनालाई प्रहरीले ललितपुरबाट १५ चैतकै राति पक्राउ गरेको थियो ।