जेनजी अभियन्ता रक्षा बमले ‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्न नसक्ने भन्दै प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाएकी छन्।
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर भएपछि सामाजिक सञ्जालमार्फत बमले आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई पछाडि धकेल्ने बताएकी हुन्।
‘म नै राज्य हुँ’ भन्ने मानसिकताले देश चल्दैन, प्रधानमन्त्रीज्यू१ विगतका प्रधानमन्त्रीहरूको यही अहंकार र आफूलाई संविधान, विधि र व्यवस्थाभन्दा माथि ठान्ने प्रवृत्तिले देशलाई कहाँ पुर्यायो भन्ने इतिहास बिर्सनुभयो ? ’ बमले सामाजिक सञ्जालमा लेखेकी छन्।
उनले यही अहंकार र स्वेच्छाचारिता कायम रहे जनताले पनि साथ छाड्ने उनको चेतावनी छ। ‘आज तपाईंसँग तपाईंकै पार्टी पनि उभिएको छैन। यही अहंकार र स्वेच्छाचारिता कायम रहिरह्यो भने एक दिन जनताले पनि तपाईंको साथ छोड्नेछन्,’ उनले लेखेकी छन्।
त्यस्तै, बमले प्रधानमन्त्रीका निकट व्यक्तिहरूसँग जोडिएको भनिएको इनम प्रकरणबारे बाहिरिएका सूचनालाई पनि आफ्नो टिप्पणीमा उल्लेख गरेकी छन्।
‘हिजो तपाईंका चाणक्यले आफूखुसी दुई दिनसम्म बिचौलिया भनिएका इनमको फोन कब्जामा लिएर प्रमाणहरू मेटाएको सूचना बाहिरिएपछि तपाईंहरू आत्तिनुभएको कुरा जनजनले बुझेका छन्,’ उनले लेखेकी छन्।