अहिले देशमा रगतको अभाव अत्यधिक बढेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको रक्त सूचना पोर्टलमा भने देशभर जम्मा ९ हजार २४३ पिन्ट रगत मौजुद रहेको र विभिन्न रक्त समूहका रगतहरू पर्याप्त मात्रामा उपलब्ध भएको तथ्याङ्क देखाएको छ । तर, डिजिटल पोर्टलमा यति धेरै रगत देखाइए पनि अस्पताल वा रक्तसञ्चार केन्द्रमा पुग्दा बिरामीले भने उल्लेख गरिएको रगत सहज रूपमा पाउन सकेका छैनन्
पोर्टलमा देखिएको विवरण अनुसार ‘ए’ पोजेटिभका २ हजार ६३४, ‘बी’ पोजेटिभका का २ हजार ३७९, ‘ओ’ पोजेटिभका २ हजार ९९८, ‘एबी’ पोजेटिभका ८४५, ‘ए’ नेगेटिभका १२२, ‘बी’ नेगेटिभका ९६, ‘ओ’ नेगेटिभका १२९ र ‘एबी’ नेगेटिभका ४० पिन्ट रगत उपलब्ध रहेको उल्लेख छ ।
डिजिटल माध्यममा यति ठुलो मात्रामा रगत उपलब्ध भएको देखिए पनि बिरामीका आफन्तले अस्पतालहरूमा पुग्दा भने उल्लेख गरिएको रगत सहज रूपमा नपाइने गरेको गुनासो व्यापक रूपमा गरिरहेका छन् ।
अनलाइनमा देखिएको तथ्याङ्क र वास्तविक अवस्था मेल नखाँदा रगतको खोजीमा भौंतारिने बिरामी र तिनका आफन्तहरू थप समस्यामा पर्ने गरेका छन् ।