प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताएका छन् । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मद्दत पुगोस् भन्ने मनसायले मोर्चाको निर्माण गरिएको उनले स्पष्ट पारे । यो मोर्चा कुनै निर्वाचनका लागि मात्र नभएर उत्पीडित वर्गको अधिकार प्राप्तिका लागि बनेकाले सदियौँसम्म कायम रहने गरी अघि बढाइएको शर्माले दाबी गरे।
शर्माले भने, ‘दलित तथा उत्पीडित क्षेत्रका सबै मानिसहरू लाभान्वित होउन् र कसैको हालत ललिता पासवानको जस्तो नहोस् भनेर नै यो मोर्चा बनाउन खोजिएको हो।’
मोर्चालाई तल्लो तहसम्म निर्माण गर्ने चरणमा रहेको भन्दै उनले यसमा सबैको सहयोगको अपेक्षा गरे । मोर्चाका घटकहरूबिच कसरी एकता भयो भनेर धेरै मानिस आश्चर्यमा परेको उल्लेख गर्दै यो सबैको साझा विचारबाट बनेको उनले बताए । मोर्चाभित्र कसैले गल्ती गरेमा कार्यकर्ता तथा जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा समेत उनले जोड दिए ।