‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले ठुलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर र दुःखद विषय भएको बताएका हुन्।

मुलुकको समृद्धिका लागि सात-आठ सय कम्पनी यस क्षेत्रमा संलग्न रहेको भन्दै जलविद्युत्‌को आवश्यकतालाई तथ्य र प्रमाणका आधारमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए। उनले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उक्त लक्ष्य पूरा गर्न सकिने आधार पर्याप्त रहेको डाँगीले स्पष्ट पारे।

उनका अनुसार हालसम्म सम्पन्न भएका करिब ४ हजार ३ सय मेगावाटका आयोजनामध्ये झन्डै ३ हजार ५ सय मेगावाट निजी क्षेत्रका छन्। ६ हजार ४ सय मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा रहेकाले १० हजार ५ सय मेगावाट उत्पादनको आधार तयार भइसकेको उनले बताए। विगतमा साना आयोजनाका लागि पनि वित्तीय व्यवस्थापन कठिन हुने गरेकामा अहिले स्वदेशी पुँजीबाटै ४ सय ४० मेगावाटसम्मका आयोजना बन्न थालेको उनले जानकारी दिए।

बाँकी २० हजार मेगावाट उत्पादनका लागि निजी क्षेत्रका ५८ वटा ठुला समूह सक्रिय रहेकाले ती समूहले औसत चार-पाँच सय मेगावाट निर्माण गर्दा लक्ष्य हासिल हुने उनको भनाइ छ। हाल प्रतिव्यक्ति विद्युत् खपत करिब ४८० किलोवाट घण्टा रहेकामा यसलाई तीन गुणाले बढाएर १ हजार ५ सय किलोवाट घण्टा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा बोल्दै डाँगीले भने, ‘पूर्ववर्ती सरकारले २८ हजार ५०० मेगावाटको लक्ष्य राखेको थियो। वर्तमान सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पूरा गर्न सकिने आधार पर्याप्त छन्।’

विद्युत् निर्यातको सम्भावनाबारे बोल्दै उनले भने, ‘बंगलादेशमा ५ हजार मेगावाट र भारतमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य छ। अहिलेको औसत मूल्यका आधारमा १५ हजार मेगावाट विद्युत् निर्यात गर्न सके वार्षिक ठुलो विदेशी मुद्रा आम्दानी गर्न सकिन्छ।’

आयोजना निर्माणबारे उठेका प्रश्नप्रति असन्तुष्टि जनाउँदै उनले थपे, ‘आज ‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद हो। देशको समृद्धिको आधार बन्न सक्ने जलविद्युत् क्षेत्रप्रति देखिएको यस्तो निराशा चिर्न सबै पक्ष मिलेर काम गर्न आवश्यक छ।’

अध्यक्ष डाँगीका अनुसार १२ हजार मेगावाट क्षमताका आयोजनाबाट विद्युत् निर्यात गर्दा २९ अर्ब ३१ करोड रुपैयाँ आम्दानी भएको छ। यही अनुपातमा १५ हजार मेगावाट निर्यात गर्न सके हालकै मूल्य अनुसार करिब ३ सय ६६ अर्ब रुपैयाँ विदेशी मुद्रा मुलुकमा भित्र्याउन सकिने उनले दाबी गरे।