बसपार्क क्षेत्रमा सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा देखिएको अन्योलता अन्त्य गर्दै मेयर धनराज आचार्यले आउँदो आइतबारबाट बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ।
विभिन्न सरोकारवाला तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा चासो राखिरहेको सन्दर्भमा मेयर आचार्यले एक स्पष्टीकरण मार्फत यस्तो जानकारी दिनुभएको हो।
उहाँले भन्नुभयो, “नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधानका लागि गठित जिल्ला समितिको आवश्यक निर्णय प्रक्रिया एकसाथ अगाडि बढिरहेको अवस्थामा भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सबैको कार्यव्यस्तता र प्राथमिकता उद्धार तथा राहततर्फ केन्द्रित हुन पुगेकाले यो काम केही दिनका लागि रोकिएको थियो।”
विपद्को समयमा मानवीय मूल्यलाई सर्वोपरि राख्दै मेयर आचार्यले नागरिकको उद्धार, राहत, व्यवस्थापन र मानवीय सहयोगलाई प्राथमिकता दिनु नै सबैभन्दा महत्वपूर्ण विषय भएकोमा जोड दिनुभयो। “सुकुम्बासी बस्ती व्यवस्थापनमा केही दिन ढिला हुनु वा केही समय निर्माणका काम रोकिँदा भन्दा विपद्का बेला नागरिकको उद्धार, राहत र मानवीय सहयोगलाई प्राथमिकता दिनु सबैभन्दा महत्वपूर्ण विषय हो भन्ने कुरा सम्बन्धित सबैले मनन गरिदिनुहुन अनुरोध गर्दछु,” उहाँको भनाइ छ।
अब मनसुन क्रमशः रोकँदै गएको र बाढीपहिरोको जोखिम कम हुँदै गएकाले बसपार्क क्षेत्रको समस्या समाधान तथा फिर्के खोलाको बाँकी काम पनि सँगसँगै अगाडि बढाइने मेयर आचार्यले बताउनुभयो।
अन्त्यमा, मेयर आचार्यले यस विषयमा अनावश्यक भ्रम र अन्योलमा नपर्न तथा प्रक्रिया पूरा गरी समस्या समाधानतर्फ भइरहेको कामलाई आवश्यक सहयोग गर्न सबै सरोकारवाला र नागरिकहरूमा आग्रह गर्नुभएको छ।
See les