अनुमानित ५० हजारदेखि ६० हजार आप्रवासी दुई दिनको अवधिमा मोरक्कोबाट स्पेनको उत्तर अफ्रिकी भू–भागमा रहेको सेउता प्रवेश गरेका छन् । यो पछिल्ला वर्षहरूमा भएका सबैभन्दा ठुलो सामूहिक सीमा पारमध्येको एक हो । यद्यपि स्पेनी अधिकारीहरूका अनुसार शुक्रबारसम्म ४८ हजार ३०० भन्दा बढी आप्रवासी मोरक्को फर्किसकेका छन् । उनीहरूमध्ये धेरैले खाना, पानी र आश्रयको अभावका कारण फर्किएको बताएका छन् । सीमा पार गर्ने क्रममा कम्तीमा ६० जनाको मृत्यु भएको छ ।
यस घटनाले आप्रवासन र सीमा सुरक्षाका विषयमा युरोपभर राजनीतिक बहससमेत चर्काएको छ । आखिर अचानक किन छिरे त यत्तिका आप्रवासी ? को हुन् तिनीहरू ? अनि एकाएक किन फर्किए मोरक्को तिरै ?रोयटर्सका अनुसार १६ वर्षीय मोरक्कोका नागरिक अयुब एल अब्याद पनि अन्य आप्रवासीले सीमा पार गरेको इन्स्टाग्रामका भिडियो हेरेपछि उनी र उनका काकाका छोरा सेउतातर्फ १२ घण्टाको यात्रा गर्न तयार भएका थिए । ‘आप्रवासन भनेको हाम्रो जीवन सुधार्नु हो । हामीले सीमा पार गर्ने प्रयास गर्ने र भगवान्मा भरोसा गर्ने निर्णय गर्यौँ,’ मोरक्कोको सीमा क्षेत्रमा भेटिएका अब्यादले बताए
स्पेनको सर्वोच्च अदालतको फैसलासम्बन्धी समाचार सामाजिक सञ्जालमा फैलिरहेका बेला ती भिडियोहरू पनि व्यापक रूपमा प्रसारित भएका थिए । यसले धेरै युवा मोरक्कोवासीलाई सीमा पार गर्ने अवसर आएको आभास भएको थियो । व्यापक आर्थिक असन्तुष्टि पनि यसको एउटा कारण हो ।
रोयटर्सले उद्धृत गरेको आधिकारिक तथ्यांकअनुसार १५ देखि २४ वर्ष उमेर समूहका प्रत्येक चारमध्ये एक मोरक्कोवासी शिक्षा, रोजगारी वा रोजगारीमूलक तालिममध्ये कुनैमा पनि संलग्न छैनन् । वर्षको यस समयमा समुद्र शान्त हुने भएकाले पौडिएर सीमा पार गर्ने विकल्प पनि तुलनात्मक रूपमा सहज हुन्छ ।
मोरक्कोले सेउता वा मेलिल्लामाथि स्पेनको सार्वभौमसत्ता स्वीकार गर्दैन । उसले शताब्दीयौँ पुराना यी स्पेनिस स्वायत्त भूभागलाई ‘अधिकृत’ क्षेत्रका रूपमा व्याख्या गर्दै आएको छ । यसका कारण केही विश्लेषकले मोरक्कोका अधिकारीहरूले सीमा पार गर्ने प्रयास रोक्न जानाजान पर्याप्त कदम नचालेको हुन सक्ने भन्ने प्रश्न पनि उठाएका छन् ।
त्यसो त शुक्रबार मोरक्को–स्पेन सीमास्थित फ्निदेकमा हिंसात्मक झडपसमेत भएका थिए ।

कम्तीमा ६० जनाको मृत्यु
मोरक्कोबाट स्पेनको स्वायत्त भूभाग सेउटामा प्रवेश गर्न ठुलो संख्यामा आप्रवासीले प्रयास गर्दा कम्तीमा ६० जनाको मृत्यु भएको छ । यस साता करिब ५० हजार मानिसले सीमा पार गर्ने प्रयास गरेको अनुमान गरिएको छ । यद्यपि, स्पेनिस अधिकारीहरूले शुक्रबार साँझसम्म अधिकांश मानिस मोरक्को फर्किएको बताएका छन् ।
दसौँ हजार आप्रवासीको अचानक आगमनपछि स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज हतारिँदै उक्त भूभागमा पुगे । इटालीले स्पेनबाट आउने यात्रुका लागि केही सीमा नियन्त्रण अस्थायी रूपमा पुनः लागु गर्यो भने फ्रान्सले स्पेनसँगको आफ्नो सीमामा थप कडा जाँच गर्न आदेश दियो । सेउताका अधिकारीहरूले बिहीबार स्थल र समुद्री मार्ग हुँदै ठुलो भिड सीमा पार गर्न खोज्दा सीमा सुरक्षाकर्मीहरूलाई नियन्त्रण गर्न कठिन भएको र मृत्यु हुनेमध्ये धेरैजसो डुबेर मृत्यु भएको बताएका छन् ।
स्पेनिस अधिकारीहरूले गैरकानुनी रूपमा प्रवेश गरेका मानिसलाई सकेसम्म छिटो निष्कासन गर्ने प्रयास गर्ने बताएका छन् । तर स्पेनको सर्वोच्च अदालतले हालै समुद्री मार्गबाट आउने आप्रवासीलाई मोरक्को फर्काउन नमिल्ने फैसला गरेको छ । शुक्रबारसम्म धेरै आप्रवासीहरू आफैँ सेउताबाट बाहिरिएको देखिएको थियो । सयौँ मानिस सीमा नाका र तारबारमा बनेका प्वाल हुँदै मोरक्को फर्किरहेको देखिएको थियो । उनीहरूमध्ये केहीले सेउतामा खाना वा आश्रय पाउन नसकेको बताएका थिए ।
स्पेनको गृह मन्त्रालयका अनुसार बिहीबार बिहानदेखि करिब ५० हजार मानिसले सीमा पार गरेका थिए । तर सेउताको क्षेत्रीय सरकारले यो संख्या ६० हजार रहेको बताएको छ । प्रधानमन्त्री सान्चेजले ठुलो संख्यामा सीमा पार गर्ने घटनालाई ‘स्पेनको क्षेत्रीय अखण्डताको उल्लङ्घन’ भनेका छन् । उनले सर्वोच्च अदालतको फैसलापछि मानव तस्करहरूले फैलाएको गलत सूचनाका कारण मानिसहरूको ठुलो आगमन भएको आरोप लगाए । ‘हिजो जे भयो, त्यसको हामी पूर्ण रूपमा भत्र्सना र निन्दा गर्छौँ,’ उनले भनेका छन् ।
सीमापारका मुलुकमा समेत चिन्ता
करिब ८४ हजार जनसंख्या रहेको सानो स्पेनिस स्वायत्त भूभाग सेउतामा दसौँ हजार मानिसको आगमनले त्यहाँको क्षमता नै प्रभावित भयो । यस घटनाले स्पेनभित्र र अन्तर्राष्ट्रियस्तरमा समेत तीव्र आलोचना र चिन्ता उत्पन्न गरेको छ । इटालीले स्पेनबाट हवाई र समुद्री मार्ग हुँदै आउने यात्रुका लागि केही सीमा नियन्त्रण ३० दिनका लागि अस्थायी रूपमा पुनः लागु गर्ने बताएको छ ।
‘स्पेनसँग सम्बन्धित शेंगेन व्यवस्था अस्थायी रूपमा निलम्बन गर्नु हाम्रा नागरिकको सुरक्षा सुनिश्चित गर्न र युरोपेली सीमाको रक्षा गर्न आवश्यक कदम हो,’ इटालीका विदेशमन्त्री तथा उपप्रधानमन्त्री अन्तोनियो ताजानीले एक्समा लेखेका छन् ।
सामान्य अवस्थामा स्पेन र इटालीबिच हवाई वा समुद्री यात्रामा आउने यात्रु नियमित सीमा जाँचको दायरामा पर्दैनन् । तर इटालीको सरकारी प्रसारण संस्था आरएआईले केही यात्रुमाथि ‘लक्षित जाँच’ अगस्ट १ देखि सुरु हुने र एक महिनासम्म जारी रहने जनाएको छ ।

इटालीको गृह मन्त्रालयको स्रोतले भने यी नियन्त्रण स्पेनबाट इटाली प्रवेश गर्ने गैर–युरोपेली संघका नागरिकमा मात्र लागु हुने र उनीहरूलाई इटाली प्रवेशको योग्यता पुष्टि गर्न जाँच गरिने जनाएको छ । आरएआईका अनुसार इटाली जाने स्पेनिस तथा अन्य ईयू नागरिक र इटालीबाट स्पेन जाने यात्रुले भने कुनै अतिरिक्त प्रक्रिया पूरा गर्नुपर्ने छैन ।
इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले यसअघि अधिकांश युरोपमा आन्तरिक सीमा जाँचबिना यात्रा गर्न अनुमति दिने शेंगेन सम्झौतामा स्पेनको सदस्यता निलम्बन गर्न आह्वान गरेकी थिइन् । यस प्रकरणको सम्भावित असरबारे कुरा गर्नुपर्दा स्पेन र इटालीबिच उडान सञ्चालन गर्ने प्रमुख विमान कम्पनीमध्ये एक ‘भ्युलिङ’ले आफ्ना उडान सामान्य रूपमा सञ्चालन भइरहेको र तालिकामा कुनै परिवर्तन नभएको बताएको छ । यद्यपि, उसले यात्रुलाई वैध यात्रा कागजात साथमा राख्न भने सुझाएको छ ।
अर्को एयरलाइन्स ‘आइबेरिया’ले पनि इटाली जाने वा इटालीबाट आउने आफ्ना उडानमा कुनै परिवर्तन नभएको र परिस्थिति बदलिएमा यात्रुलाई जानकारी गराउने जनाएको छ ।
सेउता र उत्तर अफ्रिकामा रहेको स्पेनको अर्को स्वायत्त भूभाग मेलिल्ला शेंगेन क्षेत्रको हिस्सा भए पनि ती भूभाग र मुख्य स्पेनबिच सामान तथा यात्रुको आवागमनमा सीमा जाँच भने लागु हुन्छ ।
त्यसैगरी अन्य युरोपेली नेताहरूले पनि यस घटनालाई लिएर चिन्ता व्यक्त गरेका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयेनले एक्समा लेखेकी छन्, ‘हामीले हाम्रो नियम पालना नगरी कसैलाई पनि हाम्रो संघमा आउन दिन सक्दैनौँ ।’ फ्रान्सका गृहमन्त्री लोरेन नुनेजले स्पेनसँगको फ्रान्सेली सीमामा थप जाँच गर्न आदेश दिएको बताएका छन् ।
दबाबमा स्पेनी प्रधानमन्त्री सान्चेज
अहिले आप्रवासन युरोपको सबैभन्दा विभाजनकारी मुद्दामध्ये एक हो । आप्रवासनको विरोध गर्ने दक्षिणपन्थी दलहरूको प्रभाव बढ्दै गएको छ र महादेशका धेरै देशका सरकारले कडा आप्रवासन नीति अपनाएका छन् । सान्चेज नेतृत्वको समाजवादी सरकारको आप्रवासनप्रतिको तुलनात्मक रूपमा उदार नीतिका कारण स्पेन अन्य युरोपेली देशभन्दा फरक देखिन्छ । बिहीबारको घटनाले प्रधानमन्त्री सान्चेजमाथि थप दबाब सिर्जना गर्ने देखिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले स्पेनको आप्रवासन नीतिको आलोचना गर्दै यो घटना स्पेनिस सरकारले ‘युरोपमा ठुलो संख्यामा गैरकानुनी आप्रवासनलाई सक्षम र सहज बनाउन गरेको योजनाबद्ध प्रयास’ को प्रत्यक्ष परिणाम भएको बताएको छ ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीको यो ठुलो आगमन नोभेम्बरमा रिपब्लिकन पार्टी निर्वाचित नभएमा आउन सक्ने परिस्थितिको उदाहरण भएको चेतावनी दिएका छन् । उनले यसलाई मध्यावधि निर्वाचनको ‘बहसको मुख्य विषय’ बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार स्पेनको सेउतास्थित स्पेन–मोरक्को सीमामा स्पेनिस सैनिकहरूले गस्ती गरिरहेका थिए । स्पेनको दक्षिणपन्थी विपक्षी दल भोक्सका नेता सान्टियागो अबास्कालले बिहीबार सामाजिक सञ्जालमा प्रधानमन्त्री सान्चेजलाई ‘देशद्रोही’ भनेका छन् ।
‘उनी स्पेनिस जनताका शत्रुजस्तो व्यवहार गर्छन्,’ अबास्कालले लेखेका छन्, ‘राष्ट्रिय संकट समाधान गर्ने एउटै उपाय उनलाई पदबाट हटाउनु हो ।’
सेउतामा यस्तो घटना पहिलोपटक भएको भने होइन । तर यसपटकको आगमनको अभूतपूर्व देखिएको छ । एक युवा मोरक्कोवासीले रोयटर्सलाई भनेका छन्, ‘साँच्चै भन्नुपर्दा, म यहाँ किन आएँ भन्ने पनि मलाई थाहा छैन । अब म फर्किँदै छु ।’ ‘हिजो दिउँसोको खानापछि मैले केही खाएको छैन, यद्यपि मसँग केही पैसा थियो… हामीले गरिरहेको काम न राम्रो छ, न रमाइलो नै ।’
सेउता र मेलिल्ला सम्बन्धी ऐतिहासिक विवाद
सेउता र मेलिल्ला मोरक्कोको भूमध्यसागरीय तटमा अवस्थित दुई स्पेनी भू–भाग हुन् । यी दुवै भू–भाग जिब्राल्टर पारि अफ्रिकी महाद्वीपमा पर्छन् र यिनले युरोपेली संघ र अफ्रिकाबिचको एकमात्र स्थलीय सीमा निर्धारण गरेका छन् । त्यसैले आप्रवासनको दृष्टिले मात्र होइन, स्पेन–मोरक्को सम्बन्ध र उत्तर अफ्रिकाको भू–राजनीतिका दृष्टिले पनि यी क्षेत्र अत्यन्त संवेदनशील मानिन्छन् ।
त्यसो त सेउताको इतिहास निकै पुरानो छ । भूमध्यसागरको प्रवेशद्वारमा रहेको सेउता प्राचीनकालदेखि नै रणनीतिक महत्त्वको बन्दरगाह थियो । रोमन शासनपछि यो क्षेत्र विभिन्न इस्लामिक तथा उत्तर अफ्रिकी शक्तिको नियन्त्रणमा रह्यो । सन् १४१५ मा पोर्चुगलले सेउता कब्जा गरेको थियो । पछि सन् १६६८ को लिस्बन सन्धिपछि सेउता पोर्चुगलबाट स्पेनको अधीनमा आएको थियो । त्यसयता स्पेनले सेउतामाथि आफ्नो नियन्त्रण कायम राख्दै आएको छ ।
मेलिल्ला पनि यस्तै ऐतिहासिक प्रक्रियाबाट स्पेनी नियन्त्रणमा आएको क्षेत्र हो । सन् १४९७ मा स्पेनले मेलिल्ला कब्जा गरेको थियो । त्यसपछि यो उत्तर अफ्रिकामा स्पेनको महत्त्वपूर्ण सैन्य तथा व्यापारिक जक्सनका रूपमा विकसित भयो । आधुनिक मोरक्को राज्य स्थापना हुनुअघि नै यी दुवै क्षेत्र स्पेनी नियन्त्रणमा आइसकेका कारण स्पेनले तिनलाई आफ्नो राष्ट्रिय भू–भागको हिस्सा मान्दै आएको छ ।
तर मोरक्कोले भने सेउता र मेलिल्लामाथि स्पेनको सार्वभौमिकता स्वीकार गर्दैन । मोरक्कोले यी क्षेत्रलाई आफ्नो ऐतिहासिक भूभागको हिस्सा दाबी गर्दै आएको छ । विशेषगरी सन् १९५६ मा फ्रान्स र स्पेनको संरक्षित शासनबाट मोरक्को स्वतन्त्र भएपछि सेउता र मेलिल्लाको प्रश्न दुई देशबिचको स्थायी कूटनीतिक विवादमध्ये एक बनेको हो । मोरक्कोले समय–समयमा यी भूभाग फिर्ता गर्नुपर्ने माग गर्दै आएको छ ।
आप्रवासनको ‘गेटवे’
यी दुई भूभागको भौगोलिक अवस्थाले तिनीहरूलाई युरोप प्रवेश गर्न खोज्ने आप्रवासीका लागि विशेष गौंडो बनाएको छ । सेउता र मेलिल्ला स्पेनी भू–भाग भएकाले त्यहाँ पुगेपछि आप्रवासीहरू युरोपेली संघको भू–भागमा प्रवेश गरेको मानिन्छन् । यही कारण अफ्रिका र अन्य क्षेत्रबाट युरोप जान खोज्ने मानिसहरूले यी दुई क्षेत्र हुँदै स्पेन प्रवेश गर्ने प्रयास गर्दै आएका छन् ।
स्पेनले अवैध सीमा पार रोक्न उच्च सुरक्षा बार, निगरानी प्रणाली, गस्ती र मोरक्कोसँगको सुरक्षा सहकार्य विस्तार गरेको छ । तर सुरक्षा कडा हुँदै गए पनि सीमा पार गर्ने प्रयास पूर्ण रूपमा रोकिएको छैन । कहिलेकाहीँ ठुलो संख्यामा मानिसहरूले एकैपटक सीमा बार पार गर्ने प्रयास गर्दा मानवीय संकटसमेत उत्पन्न हुने गरेको छ ।

विशेषगरी सन् २०२१ मा हजारौँ मानिस सेउता प्रवेश गरेका थिए । मोरक्कोले सीमा नियन्त्रणमा केही समयका लागि ढिलाइ गरेपछि करिब ८ हजार मानिस केही दिनमै सेउता प्रवेश गरेको घटना व्यापक चर्चामा आएको थियो । स्पेनले तीमध्ये धेरैलाई मोरक्को फर्काएको थियो ।
त्यसैगरी जुन २०२२ मा मेलिल्लाको सीमा नजिक ठुलो संख्यामा आप्रवासीले प्रवेश गर्ने प्रयास गर्दा कम्तीमा २३ जनाको मृत्यु भएको घटनाले अन्तर्राष्ट्रिय आलोचना निम्त्याएको थियो । मोरक्कोबाट सीमा पार गरी स्पेन प्रवेश गर्न खोज्ने क्रममा मानिसहरू भीडमा किचिएका तथा बारमा फसेका थिए । मानवअधिकार संगठनहरूले सीमा सुरक्षामा अत्यधिक बल प्रयोग भएको आरोप लगाएका थिए ।