सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ।
जनकपुरधाममा आयोजित सद्भाव र्याली समापन भएलगत्तै युवाहरूको एक समूहले दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेको हो।
नगरमा आयोजित सद्भाव र्याली विसर्जन भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूले विरोध प्रदर्शन सुरु गरेका थिए। उनीहरूले सुनसरी र सिरहामा भएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गर्दै चर्को नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले समाजमा शान्ति सुरक्षा र साम्प्रदायिक सद्भाव कायम राख्न राज्य पक्ष थप संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पीडितलाई उचित न्याय सुनिश्चित गर्न र अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन स्थानीय प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्। प्रदर्शनमा सहभागी युवाहरूले शान्तिपूर्ण समाज निर्माणका लागि विधिको शासन अनिवार्य रहेको भन्दै प्रशासनलाई गम्भीर हुन आग्रह गरेका छन्।
जनकपुरधाममा पछिल्लो समय उत्पन्न तनावपूर्ण परिस्थितिलाई मत्थर पारी सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक वृहत् सद्भाव र्याली निकालिएको छ। जिल्ला प्रशासन कार्यालय धनुषाको अगुवाइमा आयोजित उक्त र्यालीमा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको छ। जनकपुरधामस्थित रेल्वे स्टेसनबाट प्रारम्भ भएको र्यालीले नगरका विभिन्न मुख्य चोकहरूको परिक्रमा गरेको थियो।

सुनसरीमा भएको दुई समुदायबिचको झडपपछि उत्पन्न तनाव र स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाबिच नागरिकहरूमा शान्तिको सन्देश प्रवाह गर्न यो कार्यक्रम आयोजना गरिएको हो। र्यालीमा सहभागीहरूले ‘सामाजिक एकता कायम गरौँ’ र ‘शान्ति तथा सद्भाव कायम गरौँ’ जस्ता नाराहरू लगाएका थिए। सद्भाव र्यालीमा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू, सरकारी कर्मचारी, विभिन्न धर्मका अगुवा, नागरिक समाजका प्रतिनिधि, उद्योगी–व्यवसायी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सद्भाव र्यालीमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधामको पहिचान नै विभिन्न जातजाति र समुदायबिचको अटुट सद्भाव रहेको उल्लेख गर्दै भने, ‘जनकपुरधामको इतिहास नै सामाजिक सद्भावमा आधारित छ ।’ उनले यस ऐतिहासिक विरासतलाई जोगाउनु सबैको कर्तव्य भएको बताए।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले मिथिला संस्कृतिले सधैँ शान्ति र भाइचाराको सन्देश दिने बताए। उनले मिथिलाको गौरवशाली संस्कृति र मर्यादालाई आत्मसाथ गर्दै शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल समेत गरे।
जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले नेपालमा भएका ठुला राजनीतिक र सामाजिक परिवर्तनहरू शान्तिपूर्ण आन्दोलनबाटै सम्भव भएको स्मरण गराए। उनले आन्दोलनरत पक्षलाई आफ्ना मागहरू वार्ता र संवादको माध्यमबाट शान्तिपूर्ण ढङ्गले प्रस्तुत गर्न आग्रह गरे।