राजनीतिक विश्लेषक खगेन्द्र सङ्ग्रौलाले नेपाली समाजमा पछिल्लो समय विवेकभन्दा ‘भेडोपन’ हाबी भएको बताएका छन्। उनले गत फागुन २१ गते भएको संसदीय निर्वाचनमा धेरै मतदाताले उम्मेदवारको पहिचान नै नगरी मतदान गरेको भन्दै यस्तो बताएका हुन्।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा बोल्दै सङ्ग्रौलाले चितवन र नवलपरासीका मतदाताको अनुभव सुनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न ‘घण्टी’मा मतदान गर्ने धेरै मतदाताले उम्मेदवारको नाम सोध्दा ‘बालेन्द्र शाह’ भन्ने गरेको भन्दै उम्मेदवार को हो भन्ने जानकारीबिनै मतदान गर्ने प्रवृत्तिले समाजमा तार्किक सोच कमजोर भएको बताए।
सङ्ग्रौलाले नेपाली समाजमा विवेकहीन भीडतन्त्र मौलाउँदै गएको र राजनीतिक नेतृत्वले त्यसैको फाइदा उठाउने गरेको बताउँदै व्यक्तिको विचार, काम र योग्यताको मूल्याङ्कन नगरी भीडको मनोविज्ञानका आधारमा निर्णय गर्ने प्रवृत्तिलाई पूर्वनेता गणेशमान सिंहले प्रयोग गरेको ‘भेडा’ भन्ने भनाइ सँग तुलना गरेका हुन्।
उनले पहिलो संविधानसभा निर्वाचनमा माओवादीको पक्षमा देखिएको व्यापक जनलहर र दोस्रो निर्वाचनमा त्यसको एकाएक अन्त्य भएको घटनालाई समेत नेपाली मतदाताको मनोविज्ञानसँग जोड्दै नेपाली समाजमा राजनीतिक धारणा छिट्टै बदलिने र भीडको प्रभावमा निर्णय हुने प्रवृत्ति देखिने गरेको बताए।