राजनीति नागरिक र मानव सेवाको सबैभन्दा ठूलो माध्यम हो : गगन थापा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति सत्ता र शक्तिको साधन मात्र नभई नागरिक तथा मानवसेवा गर्ने सबैभन्दा प्रभावकारी माध्यम भएको बताएका छन्।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले कार्यक्रममा बोल्दै थापाले आफूहरू राजनीति नै नागरिकको सेवा गर्ने उद्देश्यका साथ आएपनि पछिल्लो समय राजनीतिलाई केवल सत्ता र शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति बढेको बताए।

उनले भने, ‘हामी राजनीतिमा आएको पनि नागरिक र मानवसेवा गर्नकै लागि हो। राजनीति भन्दा ठूलो सार्वजनिक सेवा अर्को केही हुन सक्दैन। नागरिकको सेवा अझ प्रभावकारी ढंगले गर्न शक्ति र सत्ता आवश्यक हुन्छ, तर त्यही क्रममा हामी चिप्लिएर राजनीति केवल सत्ता र शक्तिका लागि हो भन्ने सोचमा पुग्नु हुँदैन।’

थापाले नेपाली कांग्रेसका संस्थापक नेताहरूले पार्टी स्थापना गर्दा सत्ता प्राप्ति नभई जनसेवा र मानवसेवालाई मूल उद्देश्य बनाएको स्मरण गराउँदै अहिले पनि पार्टीले त्यही मूल आदर्शलाई आत्मसात गर्नुपर्ने बताए।

उनले वर्तमान समय नयाँ चुनौती र नयाँ विषयवस्तुले भरिएको भन्दै पार्टीले संगठन विस्तारसँगै नीति, विचार र बौद्धिक बहसलाई पनि समान रूपमा अघि बढाउनुपर्ने बताए।