चेक अनादर मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार सङ्खुवासभाको सभापोखरी स्थायी घर भई हाल भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ३, कौशलटार बस्दै आएका ६७ वर्षीय नेपाललाई बुढानीलकण्ठ नगरपालिका–१० स्थित कटारी बस्तीबाट सोमबार पक्राउ गरिएको हो।नेपाल चेक अनादर मुद्दामा बिगोबापत दुई वर्ष कैद सजाय तोकिएपछि फरार रहेको उनले बताए। पक्राउ परेका उनलाई आवश्यक कानुनी प्रक्रिया तथा सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।नेपाल ग्रेटर नेपाल अभियानका अध्यक्ष उनी त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक समेत हुन्।