सुदूरपश्चिम र कर्णालीको अवलोकन भ्रमणमा निस्किएको त्यो यात्रा आज पनि मेरो मनको गहिरो कुनामा जस्ताको त्यस्तै जीवित छ । समय बित्यो, ऋतु फेरिए, अनेक यात्राहरू गरिए, तर त्यो यात्रामा भेटिएकी एउटी आमाको करुण आवाज अझै कानमा गुन्जिरहन्छ ।
‘हजुर, मेरी छोरी लिएर गइदिनु न… ।’
त्यो वाक्य केवल एउटा अनुरोध थिएन, त्यो त अभावले थिचिएको आमाको चिच्याहट थियो । एउटा असहाय मनको अन्तिम बिन्ती थियो । एउटा यस्तो समाजको चित्र थियो, जहाँ गरिबीले मानिसलाई आफ्नै मुटुको टुक्रा छुट्टाउनसम्म बाध्य बनाउँछ ।
हामी वन प्रशासनसँग सम्बन्धित करिब तीन दर्जन कर्मचारीहरूको टोलीमा थियौँ । सुदूर र कर्णाली क्षेत्रको वन, प्रकृति, भूगोल र जनजीवन बुझ्ने उद्देश्यले भ्रमणमा निस्किएका थियौँ । यात्रा लामो थियो, कठिन पनि । बझाङ हुँदै खप्तड राष्ट्रिय निकुञ्ज पुग्ने योजना थियो । उकाली, ओराली, घुम्ती र साँघुरा बाटाहरू पार गर्दै हामी अघि बढिरहेका थियौँ ।
बाटो कहिले धुलाम्मे हुन्थ्यो, कहिले कुहिरोले ढाकिन्थ्यो । कहिले अग्ला भीरले त्रसित बनाउँथे, कहिले हरिया जङ्गल र पहाडका दृश्यले थकान बिर्साइदिन्थे । प्रकृतिले जति सुन्दरता दिएको थियो, त्यति नै कठोरता पनि दिएको रहेछ भन्ने अनुभूति हुँदै गइरहेको थियो ।
हामी चैनपुर पुग्यौँ । त्यहाँको चिसो साँझ, सामान्य होटल र यात्राको थकानले शरीर गलिसकेको थियो । भोलिपल्ट बिहानै खप्तड उक्लने तयारी भयो । खप्तडको नाम धेरै सुनेका थियौँ– शान्त भूमि, अध्यात्मको धाम, प्रकृतिको स्वर्ग । तर त्यहाँ पुग्ने बाटो भने निकै कठोर थियो ।
उकालो चढ्दा श्वास फुल्थ्यो । घुँडाले साथ छोड्न खोज्थे । तर माथि पुगेर देखिने हरियाली, फाँट, कुहिरो र घाँसे मैदानले सबै पीडा भुलाइदिने रहेछ । साँझपख हामी खप्तड पुगेका थियौँ । त्यतिबेला पानी असाध्यै परिरहेको थियो । चिसोले शरीर कापिरहेको थियो । हामीले सामान्य रमाइलो गर्दै खाना खायौँ र निदाउन गयौँ । रातभरि वर्षाको आवाजले निद्रा बारम्बार खुलिरह्यो ।
बिहान मौसम केही खुलेको थियो । हामी त्रिवेणी र खप्तड बाबाको दर्शन गर्न गयौँ । त्यहाँको शान्त वातावरणले मनलाई अद्भुत आनन्द दिएको थियो । लाग्थ्यो– संसारका सबै पीडा यहाँ आएर केही समयका लागि हराउँछन् ।
तर त्यो दिन मैले एउटा यस्तो पीडासँग साक्षात्कार गर्दै थिएँ, जुन खप्तडको कुहिरोजस्तै मनभरि फैलिने थियो ।
कुराकानी गर्दै जाँदा थाहा भयो– उनी माइतीबाट फर्कँदै रहिछन् । घर पुग्न अझै चार घण्टा लाग्ने रहेछ । उनका श्रीमानले दोस्रो विवाह गरेका रहेछन् । उनका तीन छोरी र एक छोरा रहेछन् । घरको अवस्था अत्यन्त कमजोर रहेछ । श्रीमानको व्यवहार पनि राम्रो नभएको संकेत उनका शब्दहरूले दिइरहेका थिए ।
दर्शनपछि हामी अछामतिर झर्न थाल्यौँ । हाम्रो गन्तव्य थियो– बयलपाटा नजिकको स्थान, जहाँ गाडीले हामीलाई कुरिरहेको थियो । लगभग चार घण्टाको पैदल यात्रा गर्नुपर्ने थियो । बाटो घना जङ्गल हुँदै जान्थ्यो । कतै सानो गोरेटो, कतै भिरको छेउ । टोली बिस्तारै तितरबितर भयो । हिँड्न सक्ने साथीहरू धेरै अगाडि पुगे । हामी केही जना भने बिस्तारै पछाडि थियौँ ।
त्यसैबिच जंगलको एउटा मोडमा हामीले एउटी महिलालाई देख्यौँ । उनको पिठ्युँमा रित्तो डोको थियो । सँगै करिब छ–सात वर्षको सानो छोरा थियो । उनी पनि हामी जाने बाटोमै हिँडिरहेकी रहिछन् । हामीसँगै यात्रा हुन थाल्यो ।
बाटो अप्ठ्यारो थियो, तर उनीसँग कुरा गर्दै जाँदा यात्रा केही सहज लाग्न थाल्यो । उनले बाटो देखाउँदै लगिन्– कहिले अगाडि, कहिले सँग–सँगै ।
उनको अनुहारमा थकान थियो । आँखामा गहिरो उदासी । बोलाइमा नम्रता थियो, तर भित्र कतै दबिएको पीडा स्पष्ट महसुस हुन्थ्यो ।
कुराकानी गर्दै जाँदा थाहा भयो– उनी माइतीबाट फर्कँदै रहिछन् । घर पुग्न अझै चार घण्टा लाग्ने रहेछ । उनका श्रीमानले दोस्रो विवाह गरेका रहेछन् । उनका तीन छोरी र एक छोरा रहेछन् । घरको अवस्था अत्यन्त कमजोर रहेछ । श्रीमानको व्यवहार पनि राम्रो नभएको संकेत उनका शब्दहरूले दिइरहेका थिए ।
उनी बोलिरहिन् । हामी सुनिरह्यौँ ।
कहिले उनी आफ्ना बच्चाहरूको दुःख सुनाउँथिन् । कहिले घरको झगडा । कहिले भोक । कहिले अभाव । उनका शब्दहरू केवल कथा थिएनन्, ती त पहाडका हजारौँ महिलाको साझा पीडा थिए ।
‘बाबु, बच्चा कहिलेकाहीँ भोकै सुत्छन्…’
‘पढाउन मन छ, तर कापी किन्ने पैसा हुँदैन…’
‘छोरीहरू ठूला हुँदैछन्, के गरूँ केही बुझ्दिनँ…’
यस्ता वाक्यहरू उनले सहज रूपमा भनिरहेकी थिइन् । तर ती सुन्दा हाम्रो मन भारी हुँदै गइरहेको थियो । हामी करिब चार घण्टा सँगै हिँड्यौँ । जङ्गल सकिँदै गयो । अलि पर गाडीहरू देखिन थाले । हामी पुग्नुपर्ने स्थान आइपुगेछ । अब छुट्टिने बेला आयो ।
हामीले उनलाई बिदाइ गर्न खोज्यौँ । त्यही क्षण उनले एक्कासि भनिन्–
‘हजुर… मेरा बच्चाहरूले धेरै दुःख पाए…’
उनको स्वर काँपिरहेको थियो ।
‘पाल्न नसक्ने भएँ । यिनीहरूको भविष्य सम्झेर राति निद्रा लाग्दैन । हजुरले मेरी छोरी लिएर गइदिनु न… म छोरी लिएर आउँछु… दस मिनेट पर्खिनुस है…’
त्यति भन्दै उनका आँखाबाट आँसु खस्न थाले । त्यो क्षण समय रोकिएजस्तो लाग्यो । मेरो शरीर त्यहीँ थियो, तर चेतना कतै हराएजस्तो भयो । म केही बोल्न सकिनँ । शब्दहरू घाँटीमै अड्किए । उनका आँखा आशा र निराशाको बीचमा अडिएका थिए ।
हामी गाडीतिर लाग्यौँ । तर मेरा पाइला एकाएक भारी भए । गाडी अगाडि बढिरह्यो । जंगलहरू पछाडि छुट्दै गए । खोला, पहाड, बस्तीहरू पार हुँदै गए । साथीहरू यात्राका कुरा गरिरहेका थिए । कसैले फोटो हेरिरहेको थियो, कसैले रमाइलो गरिरहेको थियो । तर मेरो मन भने त्यही जंगलमा अड्किएको थियो ।
एकजना आमाले कसरी आफ्नै सन्तान अपरिचित मानिसको जिम्मा लगाउन तयार हुन्छिन् ? यो प्रश्नले मेरो मुटु चिरिएर आयो ।
के गरिबी यति ठूलो अभिशाप हो ? के अभावका अघिल्तिर आमाको माया पनि हार्न बाध्य हुन्छ ? के यो देशका पहाडहरू साँच्चै दुःखका पहाड बनेका हुन् ? मभित्र अनेक प्रश्नहरू ज्वालामुखीजस्तै फुटिरहेका थिए ।
उनको सानो छोरा हामीतिर हेरिरहेको थियो । उसलाई केही थाहा थिएन । ऊ केवल आमाको पछाडि उभिएको थियो । उसका आँखामा डर थिएन, तर अनभिज्ञता थियो । सायद उसले बुझेकै थिएन । उनकी आमा के निर्णय गर्न खोजिरहेकी छन् भनि ।
म सोचिरहेँ– यदि साँच्चै हामीले ती बच्चीलाई लगेको भए के हुन्थ्यो ? उनी आफ्नो घर, गाउँ, साथी र आमालाई छोडेर आउन तयार हुन्थिन् ? उनकी आमाले उनलाई कसरी सम्झाउँथिन् ? त्यो क्षणले मलाई भित्रैदेखि हल्लाइदियो ।
हामीले उनलाई सम्झायौँ–
‘दिदी, अहिले यस्तो नगर्नुस् । हामी सक्दो सहयोग गर्छौँ । तपाईंको नम्बर दिनुस् । बच्चा पठाउने कुरा नगरौँ ।’
उनी चुपचाप सुनिरहिन् । उनका आँखा रसाइरहेका थिए । त्यो आँसुमा निरिहता थियो, पीडाबोध थियो । अनि कतै गहिरो मातृत्वको भाव पनि ।
हामी गाडीतिर लाग्यौँ । तर मेरा पाइला एकाएक भारी भए । गाडी अगाडि बढिरह्यो । जंगलहरू पछाडि छुट्दै गए । खोला, पहाड, बस्तीहरू पार हुँदै गए । साथीहरू यात्राका कुरा गरिरहेका थिए । कसैले फोटो हेरिरहेको थियो, कसैले रमाइलो गरिरहेको थियो । तर मेरो मन भने त्यही जंगलमा अड्किएको थियो ।
बारम्बार त्यही आवाज कानमा आइरह्यो–
‘हजुर, मेरी छोरी लिएर गइदिनु…’
म झ्यालबाहिर हेर्थेँ । ती पहाडहरू अब केवल सुन्दर मात्र लागिरहेका थिएनन् । ती पहाडभित्र लुकेका हजारौँ पीडाहरू चिच्याएर काँनमा ठोक्किन आइपुग्थे । कतै भोक थियो । कतै अभाव । कतै अशिक्षाको पीडाबोध । कतै महिलाको असहाय जीवन ।
हामी सहरमा बसेर विकासका भाषण गर्छौँ । योजना बनाउँछौँ । प्रतिवेदन लेख्छौँ । तर ती पहाडका घरभित्र कति आमाहरू आँसु लुकाएर बाँचिरहेका छन् भन्ने कुरा सायद हामीले कहिल्यै गहिरिएर महसुस गर्दैनौँ ।
त्यो दिन मैले गरिबीलाई नजिकबाट देखेँ । तर त्यो गरिबी केवल पैसाको थिएन । त्यो अवसरको गरिबी थियो । शिक्षाको गरिबी थियो । राज्यको उपस्थितिको गरिबी थियो । म सोचिरहेँ– यदि ती बच्चाहरूले राम्रो विद्यालयमा पढ्न पाएका भए ?
यदि उनकी आमाले रोजगारी पाएकी भए ? यदि गाउँमै आधारभूत सुविधा पुगेको भए ? सायद उनले आफ्नै काखको बच्चा अपरिचितलाई सुम्पनुपर्ने कुरा कहिल्यै सोच्ने थिइनन् । यात्रा सकियो । हामी आ–आफ्ना गन्तव्यमा फर्कियौँ ।
तर मेरो मन भने पूर्ण रूपमा फर्किन सकेन । आज पनि कहिलेकाहीँ राति एकान्तमा बस्दा ती आँखा सम्झिन्छु । त्यो जङ्गल सम्झिन्छु । त्यो चिसो हावा सम्झिन्छु । र, सबैभन्दा धेरै सम्झिन्छु– ती आमाको असहाय बिन्ती ।
मानिसले धेरै कुरा बिर्सिन्छ । तर केही दृश्यहरू आत्मामा लेखिन्छन् । त्यो दिन मैले देखेको दृश्य मेरो आत्मामा कुँदिएको छ । मैले धेरै पहाड देखेँ । धेरै यात्रा गरेँ । धेरै मानिस भेटेँ । तर ती आमाको जस्तो पीडा मैले कुनै अनुहारमा देख्न सकेको छैन ।
कहिलेकाहीँ लाग्छ– त्यो महिला अहिले कहाँ होलिन ? उनकी छोरीको जीवन कस्तो होला ? स्कुल जान पाएकी छिन् कि छैनन् ? जीवन त्यस्तै कठोर रहला कि केही परिवर्तन होला ? यी प्रश्नहरूको उत्तर मसँग छैन ।
तर एउटा कुरा म निश्चित रूपमा भन्न सक्छु– त्यो दिन मैले केवल एउटी महिला भेटेको थिइनँ । मैले सिङ्गो पहाडको पीडा भेटेको थिएँ ।