त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा प्राध्यापन गर्ने डा. भेषराज घिमिरेले नेपालको राजनीतिलाई सुक्ष्म ढङ्गले नियालेका छन् । उनी पुराना राजनीतिक दलमा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्दा नेपालमा जेनजी आन्दोलन भएको र अहिलेको अवस्थामा मुलुक पुगेको बताउँछन् ।
गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा कचिङ्गल निम्तिनुमा निर्वाचन परिणामले पनि केही भूमिका खेलेको उनको बुझाइ छ । उनै डा. घिमिरेसँग रातोपाटीका लागि मधुसुधन भट्टराईले पुराना दलहरूमा कचिङ्गल निम्तिनुको कारण के हो भनेर कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि पुराना राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपामा पूरै कचिङ्गल छ । यो कचिङ्गल निस्किनुको कारणचाहिँ के हो ?
पार्टीभित्र हिजो अस्वस्थ प्रतिस्पर्धा थियो । सत्तामा गएका पार्टीहरूले पनि राम्रोसँग डेलिभरी गर्न सकेका थिएनन् । त्यसपछि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले जनतामा एउटा सन्देश दियो– अब पुराना दलहरूले केही गर्न सक्दैनन्, नयाँ दलहरूले मात्र अब समृद्धि विकासको यात्रा गन्तव्य पुर्याउँछन् ।
जनतालाई त्यही लागिरहेको बेलामा निर्वाचन भयो । निर्वाचनमा पुराना दलहरूको निराशाजनक नतिजा आयो, जुन अहिले हामीले देखिरहेका छौँ । प्रतिपक्ष भनिएका दलहरू संसदको सानो कुनामा बस्नुपर्ने अवस्था छ । अब यसै हिजोको विरासत गुमिसकेपछि पार्टीभित्रका आन्तरिक गुट यति सक्रिय भए कि एकले अर्कोलाई स्वीकार गर्न सक्ने अवस्था देखिएन ।
दलभित्र युवाहरूलाई नेतृत्व दिए पार हुन्छ, युवालाई नदिए पार लाग्दैन भन्ने अवस्था सिर्जना भयो । अहिले एक किसिमका मान्छेहरू राजनीतिमा पुस्तान्तरणको मात्र मुद्दा उठाइरहेका छन् । कसैले राजनीति विरासत हो भन्दैछन् भने कसैले राजनीतिमा हाम्रो औचित्य के भयो भनिरहेछन् । यो सबै उहाँहरूको हिजोको असक्षमता हो । अहिले राजनीतिक दलहरूको जुन हैसियत छ, त्यो हैसियतका कारणले एउटा असन्तुष्टिको कुरा चुलिएको छ । द्वन्द्वको कुरा चुलिएका कारणले दलहरूले आफ्ना गुट समायोजन र व्यवस्थापन गर्न सकेनन् ।
नेपाली कांग्रेसमा हेर्नुहुन्छ भने अहिले गगनजी (गगन थापा)हरू जसरी पनि हामी युवा हौँ भनेर जबर्जस्त परिभाषित गर्दै हुनुहुन्छ । यसले राम्रो सन्देश दिइरहेको छैन । विशेष महाधिवेशनमा सहभागी नभएको हिस्सालाई पाखा लगाएर अगाडि बढ्ने हो भने कांग्रेस त्यति बलियो पार्टीको रूपमा स्थापित हुन सक्दैन । कम्युनिस्ट पार्टीभित्र पनि नेता धेरै भए । नेताहरूको हिजोको पोर्टफोलियो ठुलो छ तर अहिले हैसियत साना दलहरूको बराबर हुन आयो । त्यसपछि भागबन्डा नपुगेको, अवसर नपुगेको अवस्थाले गर्दा गुटहरू तीव्र बनिरहेका छन् । गुट बलिया भएका छन् । एकले अर्कालाई नस्विकार्ने प्रवृत्ति बनेको छ । मलाई लाग्छ, यी सबै कुरा दलहरूमा देखिएको कचिङ्गलका कारक तत्वहरू हुन् ।
कचिङ्गल केही दलमा निर्वाचनभन्दा अगाडिदेखि नै थियो, केही दलमा निर्वाचन पछाडि सुरु भएको थियो । त्यो कचिङ्गल बिस्तारै निर्वाचनको माहोल सकिएपछि शान्त हुनुपर्नेमा झन् झाङ्गिरहेछ, त्यसको कारणचाहिँ के देखिन्छ ?
राजनीतिमा संस्कृति र संस्कार भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामीले नेपालमा २००७ सालदेखि प्रजातन्त्र प्राप्त गरेका थियौँ । ०६२÷०६३ को आन्लोलनपछि लोकतन्त्र प्राप्त गर्यौँ, तर अहिलेसम्म पनि नेपाली राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण र अभ्यास भने छैन । दलहरूले आफूभित्र लोकतान्त्रिक आचरणलाई स्थापित गर्न नसक्दा यो अवस्था आएको हो । दलहरूभित्र र दलहरूबिच राजनीतिक संस्कृतिको जुन अभ्यास हुनुपर्थ्यो, त्यो संस्कृतिको अभ्यास हुन नसक्दा अहिलेको अवस्था आएको हो ।
हामीले लोकतान्त्रिक प्रणालीभित्र अभ्यास गरिरहेको भनेका छौँ, तर आचरणचाहिँ अधिनायकवादी शैलीको देखाइरहेका छौँ । अहिले पुराना दलको नेतृत्वमा देखिएको आचरण लोकतान्त्रिक हुन सकेन । त्यसले अहिलेको अवस्था सिर्जना भएको हो ।
पुराना गणतन्त्र र लोकतन्त्रमा आस्था राख्ने, लोकतन्त्रका लागि लडेका दलहरूभित्र देखिएको कचिङ्गलले कतै लोकतान्त्रिक व्यवस्थामा समस्या निम्त्याउने त होइन ?
हो, अहिलेको महत्त्वपूर्ण प्रश्न यो हो । अहिले हामीले कुन पार्टीले सरकार चलाइरहेको छ भन्ने कुरासित भन्दा पनि लोकतन्त्र नेपालमा रहन्छ कि रहँदैन भन्ने कुरालाई महत्त्वका साथ हेर्नुपर्छ । किनभने नेपाली सेना एकाएक राजनीतिमा अलिकति सक्रिय भूमिका निर्वाह गर्न गइरहेको जस्तो आभास हुँदैछ । नागरिकहरू, समाजसेवी, राजनीतिज्ञलगायत सबैले यस्तो विषयमा चर्चापरिचर्चा गर्न सुरु गरेका छन् । जनताहरूमा यसले अस्थिरता तिम्त्याउँछ कि भन्ने आशङ्का उब्जिएको छ । दुई तिहाइको सरकारले पनि पाँच वर्ष स्थिरता दिन सकेन । सुशासन दिन सकेन भने विकल्प के त ? सत्ताहरू कालजयी हुन सक्दैनन् । कुनै पनि सत्ताहरू कालजयी हुँदैनन् । सत्ता परिवर्तन भइरहने कालचक्र हो । त्यसकारण लोकतन्त्रको विरुद्धमा फेरि कुनै किसिमको अधिनायकवाद लाद्ने शासन व्यवस्था र प्रणाली आउने हो कि भन्ने एउटा चिन्ता अहिले जन्मिएको अवस्था हो ।
यो आशङ्का र अहिलेको अवस्था निराकरण गर्न, दलहरू सशक्त बनाउन, लोकतन्त्रलाई सशक्त बनाउन के गर्ने ?
दलहरूमा धैर्यता हुनुपर्यो । दलहरू प्रशिक्षित हुनुपर्यो । अनुशासित हुनुपर्यो । राजनीतिक क्षेत्रमा प्रणालीमात्रै राम्रो भएर भएन । अहिले दलहरूभित्र अराजकता मौलाइरहेको छ । सबै दलभित्र एकले अर्कालाई स्वीकार नगर्ने प्रवृत्ति बढिरहेको छ । यी यावत कुराहरूले गर्दाखेरि मलाई लाग्छ, दलहरूले नै प्रशिक्षण दिनुपर्छ, लोकतान्त्रिक आचरणमा दलहरू उभिनुपर्छ ।
अब सिद्धान्तबिनाको राजनीति टिकाउ र दिगो हुँदैन । पपुलिजमले मुलुकलाई दुर्घटनामा पुर्याउन सक्छ । यो अवस्था दलहरूले बुझ्नुपर्छ । अबको पाँच वर्ष प्रतिपक्षमा बस्ने दलहरू नेपाली कांग्रेस, नेकपा एमालेले संगठन बलियो बनाऊ । जनतासँग जाऊ । दुःख–सुखमा साथ देऊ । आफूले नराम्रा कुरा नगर । सरकार पक्षले नराम्रा काम गर्यो भने विधिसम्मत तरिकाले त्यसको आलोचना गर । तर आफैँ–आफैँमा लडेर एउटा अस्तित्व नै मेट्ने हिसाबमा जुन कांग्रेस, एमाले, माओवादी जस्ता दलहरू लागेका छन्, यो लोकतन्त्रको लागि सबैभन्दा विडम्बनाको कुरा हो ।
अहिले राजनीतिक दलहरूमा पुरानो पुस्तालाई हटाएर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने फेसनजस्तै चलेको छ । अब राजनीति भनेको त एउटा अनुभवको खेल पनि हो भनिन्छ । त्यो अनुभव र विरासत राजनीतिमा चाहिन्छ कि चाहिँदैन ?
अहिलेको सबैभन्दा खतरनाक कुरा यो हो कि जुन हामी २५ वर्ष ३० वर्ष उमेर समूहको राजनीतिको विरासतको कुरा गर्छौं । यो उमेर समूह राजनीतिक संसारमा कतै पनि टिक्दैन । चलेको पनि छैन । राजनीतिमा युवाहरू आउनु भनेको राम्रो पक्ष हो तर युवाहरू नै सबै विरासतको राजनीति भनेर जुन एक किसिमको न्यारेसन, न्यारेटिभ सिर्जना गरिएको छ, यो खतरनाक छ । यसले लोकतन्त्रलाई कहिल्यै सही गन्तव्य पुर्याउँदैन । अहिले पुराना पार्टीभित्र जुन गुटगत चरम द्वन्द्व उत्कर्षमा पुगेको छ, त्यो पनि एउटा अपरिपक्व आवाज हो । यो आवाजले पार्टीहरूलाई पनि सही दिशामा पुर्याउन सक्दैन ।
राजनीति उमेर समूहको विरासत होइन । राजनीतिमा युवा र परिपक्व नेतृत्व मिलाएरै जाने हो । जोसमा होस पुर्याएको नेतृत्व चाहिन्छ । होइन भने हामी यस्तो भू–राजनीतिक अवस्थामा छौँ, सङ्कटपूर्ण अवस्थामा छौँ, एउटा ट्रान्जिसनल फेजमा छौँ, यो वेलामा हामीले अन्तर्राष्ट्रिय आयामहरूलाई बलियो बनाउन सकेनौँ भने देश जोखिममा फस्छ । सङ्कटमा फस्छ । कांग्रेस, एमाले, माओवादीभित्र जुन पुस्तान्तरणको कुरा जबर्जस्त उठाइएको छ, यो पनि एउटा कचिङ्गलको कारण हो ।
