‘आफैँ–आफैँमा लडेर अस्तित्व नै मेट्ने हिसाबमा दलहरू लाग्नु लोकतन्त्रका लागि विडम्बना हो’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

त्रिभुवन विश्वविद्यालयमा राजनीति शास्त्रमा प्राध्यापन गर्ने डा. भेषराज घिमिरेले नेपालको राजनीतिलाई सुक्ष्म ढङ्गले नियालेका छन् । उनी पुराना राजनीतिक दलमा लोकतान्त्रिक संस्कारको विकास हुन नसक्दा नेपालमा जेनजी आन्दोलन भएको र अहिलेको अवस्थामा मुलुक पुगेको बताउँछन् ।

गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनपछि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीमा कचिङ्गल निम्तिनुमा निर्वाचन परिणामले पनि केही भूमिका खेलेको उनको बुझाइ छ । उनै डा. घिमिरेसँग रातोपाटीका लागि मधुसुधन भट्टराईले पुराना दलहरूमा कचिङ्गल निम्तिनुको कारण के हो भनेर कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश-

प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि पुराना राजनीतिक दलहरू कांग्रेस, एमाले, माओवादी, राप्रपामा पूरै कचिङ्गल छ । यो कचिङ्गल निस्किनुको कारणचाहिँ के हो ?

पार्टीभित्र हिजो अस्वस्थ प्रतिस्पर्धा थियो । सत्तामा गएका पार्टीहरूले पनि राम्रोसँग डेलिभरी गर्न सकेका थिएनन् । त्यसपछि गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले जनतामा एउटा सन्देश दियो– अब पुराना दलहरूले केही गर्न सक्दैनन्, नयाँ दलहरूले मात्र अब समृद्धि विकासको यात्रा गन्तव्य पुर्‍याउँछन् ।

जनतालाई त्यही लागिरहेको बेलामा निर्वाचन भयो । निर्वाचनमा पुराना दलहरूको निराशाजनक नतिजा आयो, जुन अहिले हामीले देखिरहेका छौँ । प्रतिपक्ष भनिएका दलहरू संसदको सानो कुनामा बस्नुपर्ने अवस्था छ । अब यसै हिजोको विरासत गुमिसकेपछि पार्टीभित्रका आन्तरिक गुट यति सक्रिय भए कि एकले अर्कोलाई स्वीकार गर्न सक्ने अवस्था देखिएन ।

दलभित्र युवाहरूलाई नेतृत्व दिए पार हुन्छ, युवालाई नदिए पार लाग्दैन भन्ने अवस्था सिर्जना भयो । अहिले एक किसिमका मान्छेहरू राजनीतिमा पुस्तान्तरणको मात्र मुद्दा उठाइरहेका छन् । कसैले राजनीति विरासत हो भन्दैछन् भने कसैले राजनीतिमा हाम्रो औचित्य के भयो भनिरहेछन् । यो सबै उहाँहरूको हिजोको असक्षमता हो । अहिले राजनीतिक दलहरूको जुन हैसियत छ, त्यो हैसियतका कारणले एउटा असन्तुष्टिको कुरा चुलिएको छ । द्वन्द्वको कुरा चुलिएका कारणले दलहरूले आफ्ना गुट समायोजन र व्यवस्थापन गर्न सकेनन् ।

नेपाली कांग्रेसमा हेर्नुहुन्छ भने अहिले गगनजी (गगन थापा)हरू जसरी पनि हामी युवा हौँ भनेर जबर्जस्त परिभाषित गर्दै हुनुहुन्छ । यसले राम्रो सन्देश दिइरहेको छैन । विशेष महाधिवेशनमा सहभागी नभएको हिस्सालाई पाखा लगाएर अगाडि बढ्ने हो भने कांग्रेस त्यति बलियो पार्टीको रूपमा स्थापित हुन सक्दैन । कम्युनिस्ट पार्टीभित्र पनि नेता धेरै भए । नेताहरूको हिजोको पोर्टफोलियो ठुलो छ तर अहिले हैसियत साना दलहरूको बराबर हुन आयो । त्यसपछि भागबन्डा नपुगेको, अवसर नपुगेको अवस्थाले गर्दा गुटहरू तीव्र बनिरहेका छन् । गुट बलिया भएका छन् । एकले अर्कालाई नस्विकार्ने प्रवृत्ति बनेको छ । मलाई लाग्छ, यी सबै कुरा दलहरूमा देखिएको कचिङ्गलका कारक तत्वहरू हुन् ।

कचिङ्गल केही दलमा निर्वाचनभन्दा अगाडिदेखि नै थियो, केही दलमा निर्वाचन पछाडि सुरु भएको थियो । त्यो कचिङ्गल बिस्तारै निर्वाचनको माहोल सकिएपछि शान्त हुनुपर्नेमा झन् झाङ्गिरहेछ, त्यसको कारणचाहिँ के देखिन्छ ?

राजनीतिमा संस्कृति र संस्कार भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । हामीले नेपालमा २००७ सालदेखि प्रजातन्त्र प्राप्त गरेका थियौँ । ०६२÷०६३ को आन्लोलनपछि लोकतन्त्र प्राप्त गर्‍यौँ, तर अहिलेसम्म पनि नेपाली राजनीतिक दलहरूमा लोकतान्त्रिक आचरण र अभ्यास भने छैन । दलहरूले आफूभित्र लोकतान्त्रिक आचरणलाई स्थापित गर्न नसक्दा यो अवस्था आएको हो । दलहरूभित्र र दलहरूबिच राजनीतिक संस्कृतिको जुन अभ्यास हुनुपर्थ्यो, त्यो संस्कृतिको अभ्यास हुन नसक्दा अहिलेको अवस्था आएको हो ।

हामीले लोकतान्त्रिक प्रणालीभित्र अभ्यास गरिरहेको भनेका छौँ, तर आचरणचाहिँ अधिनायकवादी शैलीको देखाइरहेका छौँ । अहिले पुराना दलको नेतृत्वमा देखिएको आचरण लोकतान्त्रिक हुन सकेन । त्यसले अहिलेको अवस्था सिर्जना भएको हो ।

पुराना गणतन्त्र र लोकतन्त्रमा आस्था राख्ने, लोकतन्त्रका लागि लडेका दलहरूभित्र देखिएको कचिङ्गलले कतै लोकतान्त्रिक व्यवस्थामा समस्या निम्त्याउने त होइन ?

हो, अहिलेको महत्त्वपूर्ण प्रश्न यो हो । अहिले हामीले कुन पार्टीले सरकार चलाइरहेको छ भन्ने कुरासित भन्दा पनि लोकतन्त्र नेपालमा रहन्छ कि रहँदैन भन्ने कुरालाई महत्त्वका साथ हेर्नुपर्छ । किनभने नेपाली सेना एकाएक राजनीतिमा अलिकति सक्रिय भूमिका निर्वाह गर्न गइरहेको जस्तो आभास हुँदैछ । नागरिकहरू, समाजसेवी, राजनीतिज्ञलगायत सबैले यस्तो विषयमा चर्चापरिचर्चा गर्न सुरु गरेका छन् । जनताहरूमा यसले अस्थिरता तिम्त्याउँछ कि भन्ने आशङ्का उब्जिएको छ । दुई तिहाइको सरकारले पनि पाँच वर्ष स्थिरता दिन सकेन । सुशासन दिन सकेन भने विकल्प के त ? सत्ताहरू कालजयी हुन सक्दैनन् । कुनै पनि सत्ताहरू कालजयी हुँदैनन् । सत्ता परिवर्तन भइरहने कालचक्र हो । त्यसकारण लोकतन्त्रको विरुद्धमा फेरि कुनै किसिमको अधिनायकवाद लाद्ने शासन व्यवस्था र प्रणाली आउने हो कि भन्ने एउटा चिन्ता अहिले जन्मिएको अवस्था हो ।

यो आशङ्का र अहिलेको अवस्था निराकरण गर्न, दलहरू सशक्त बनाउन, लोकतन्त्रलाई सशक्त बनाउन के गर्ने ?

दलहरूमा धैर्यता हुनुपर्‍यो । दलहरू प्रशिक्षित हुनुपर्‍यो । अनुशासित हुनुपर्‍यो । राजनीतिक क्षेत्रमा प्रणालीमात्रै राम्रो भएर भएन । अहिले दलहरूभित्र अराजकता मौलाइरहेको छ । सबै दलभित्र एकले अर्कालाई स्वीकार नगर्ने प्रवृत्ति बढिरहेको छ । यी यावत कुराहरूले गर्दाखेरि मलाई लाग्छ, दलहरूले नै प्रशिक्षण दिनुपर्छ, लोकतान्त्रिक आचरणमा दलहरू उभिनुपर्छ ।

अब सिद्धान्तबिनाको राजनीति टिकाउ र दिगो हुँदैन । पपुलिजमले मुलुकलाई दुर्घटनामा पुर्‍याउन सक्छ । यो अवस्था दलहरूले बुझ्नुपर्छ । अबको पाँच वर्ष प्रतिपक्षमा बस्ने दलहरू नेपाली कांग्रेस, नेकपा एमालेले संगठन बलियो बनाऊ । जनतासँग जाऊ । दुःख–सुखमा साथ देऊ । आफूले नराम्रा कुरा नगर । सरकार पक्षले नराम्रा काम गर्‍यो भने विधिसम्मत तरिकाले त्यसको आलोचना गर । तर आफैँ–आफैँमा लडेर एउटा अस्तित्व नै मेट्ने हिसाबमा जुन कांग्रेस, एमाले, माओवादी जस्ता दलहरू लागेका छन्, यो लोकतन्त्रको लागि सबैभन्दा विडम्बनाको कुरा हो ।

अहिले राजनीतिक दलहरूमा पुरानो पुस्तालाई हटाएर नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने फेसनजस्तै चलेको छ । अब राजनीति भनेको त एउटा अनुभवको खेल पनि हो भनिन्छ । त्यो अनुभव र विरासत राजनीतिमा चाहिन्छ कि चाहिँदैन ?

अहिलेको सबैभन्दा खतरनाक कुरा यो हो कि जुन हामी २५ वर्ष ३० वर्ष उमेर समूहको राजनीतिको विरासतको कुरा गर्छौं । यो उमेर समूह राजनीतिक संसारमा कतै पनि टिक्दैन । चलेको पनि छैन । राजनीतिमा युवाहरू आउनु भनेको राम्रो पक्ष हो तर युवाहरू नै सबै विरासतको राजनीति भनेर जुन एक किसिमको न्यारेसन, न्यारेटिभ सिर्जना गरिएको छ, यो खतरनाक छ । यसले लोकतन्त्रलाई कहिल्यै सही गन्तव्य पुर्‍याउँदैन । अहिले पुराना पार्टीभित्र जुन गुटगत चरम द्वन्द्व उत्कर्षमा पुगेको छ, त्यो पनि एउटा अपरिपक्व आवाज हो । यो आवाजले पार्टीहरूलाई पनि सही दिशामा पुर्‍याउन सक्दैन ।

राजनीति उमेर समूहको विरासत होइन । राजनीतिमा युवा र परिपक्व नेतृत्व मिलाएरै जाने हो । जोसमा होस पुर्‍याएको नेतृत्व चाहिन्छ । होइन भने हामी यस्तो भू–राजनीतिक अवस्थामा छौँ, सङ्कटपूर्ण अवस्थामा छौँ, एउटा ट्रान्जिसनल फेजमा छौँ, यो वेलामा हामीले अन्तर्राष्ट्रिय आयामहरूलाई बलियो बनाउन सकेनौँ भने देश जोखिममा फस्छ । सङ्कटमा फस्छ । कांग्रेस, एमाले, माओवादीभित्र जुन पुस्तान्तरणको कुरा जबर्जस्त उठाइएको छ, यो पनि एउटा कचिङ्गलको कारण हो ।