पदयात्रीले पथप्रदर्शक लिएर मात्र जानुपर्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा जाने पदयात्रीलाई अनिवार्य रूपमा पथप्रदर्शक ( ट्रेकिङ गाइड) लिएर जानैपर्ने व्यवस्थाको स्मरण गरेको छ । अध्यागमन विभागका अनुसार निषेधित क्षेत्रमा पदयात्रा गर्दा अध्यागमन विभागबाट अनिवार्य रूपमा पदयात्रा अनुमति लिनुपर्ने व्यवस्था छ ।

निषेधित क्षेत्रमा समूहगत रूपमा एजेन्सीमार्फत जाने विदेशीको पदयात्रा अनुमति जारी गर्नेसम्बन्धी सेवालाई अनलाइन प्रणालीको अवलम्बन गरी झण्झटरहित, छिटो, छरितो र सेवाग्राहीमैत्री बनाइएको जानकारी गराएको छ ।

विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालका अनुसार पदयात्रा अनुमतिसम्बन्धी प्राविधिक कठिनाइ भएमा सहजीकरणका लागि यसअघि सम्पर्क नम्बरको व्यवस्था गरिएको छ । निषेधित क्षेत्रमा पदयात्रा अनुमति माग गर्ने एकल पदयात्रीलाई पदयात्रा अनुमति प्रदान गर्नेगरी विभागीय निर्णय भएको उनले जानकारी दिए ।

पदयात्रा गर्दा अनिवार्य रूपमा एजेन्सीमार्फत आवेदन पेस गर्नुपर्ने, निजसँग जाने ट्रेकिङ गाइड अनिवार्य रुपमा तोक्नुपर्ने, आपत्कालीन अवस्थामा उद्धार (रेस्क्यु) को सम्पूर्ण जिम्मेवारी सम्बन्धित एजेन्सीले लिनेछ । अन्य व्यवस्था विद्यमान कानुनबमोजिम हुनेगरी निर्धारण गरिएको छ ।एक समूहमा एक ट्रेकिङ गाइड बराबर बढीमा सात जना पदयात्री रहनेगरी पदयात्रा अनुमति प्रदान गर्ने निर्णय भएको विभागले उल्लेख गरेको छ ।

पदयात्रामा जाने विदेशी नागरिकले आफ्नै मुलुकबाट पदयात्रा अनुमतिको आवेदन गर्ने विदेशीलाई भिसा आवेदन नम्बरका आधारमा पदयात्राका लागि आवेदन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस्तो व्यवस्थाबाट नेपालको पर्यटन प्रवर्द्धन, आन्तरिक रोजगारी सिर्जना, पदयात्रीको व्यक्तिगत सुरक्षा र पदयात्रा सहजीकरणमा सहयोग पुग्ने विभागले अपेक्षा गरेको छ ।