
काठमाडौं – मध्यपूर्वमा जारी युद्धका बीच खाडीका कयौं देशहरू लगातार हमलाको सूचना जारी गरिरहेका छन् । पछिल्लो समय कुवेत र बहराइनले हमलाको चेतावनी जारी गरेर आमनागरिकलाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् ।
बहराइनको गृह मन्त्रालयले हमलाबारे सुरक्षा अलर्ट जारी गरेको बीबीसीले जनाएको छ । गृह मन्त्रालयले केही समय अघि ‘एक्स’ मा पोस्ट गर्दै भनेको छ, ‘साइरन सक्रिय गरिएको छ । नागरिकसँग शान्त रहन र नजिकको सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।’
गृह मन्त्रालयले नागरिकहरूलाई आधिकारिक माध्यमबाट दिइने सूचनाको पालना गर्न पनि आग्रह गरेको छ ।
बीबीसीका अनुसार कुवेतको सेनाले सोमबार रातिदेखि मंगलबार बिहानसम्म ‘एक्स’ मा देशमा कयौंपल्ट मिसाइल र ड्रोन हमला भएको जानकारी दिएको छ ।
सेनाले ‘एक्स’ पोस्टका माध्यमबाट केही समयअघि भनेको छ, ‘कुवेती एयर डिफेन्स अहिले दुश्मनको मिसाइल र ड्रोन हमलाहरूको सामना गरिरहेको छ ।’
सेनाले नागरिकलाई सम्बन्धित अधिकारीहरूका तर्फबाट सुरक्षाका लागि जारी निर्देशनहरूको पालन गर्न आग्रह गरेको छ ।