ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री अनिलकुमार सिन्हाले नेपालको मौसम पूर्वानुमान प्रणालीलाई वैज्ञानिक, विश्वसनीय र प्रभावकारी बनाउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।
विश्व मौसम दिवसको अवसरमा सोमवार जल तथा मौसम विज्ञान विभागले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले पूर्वानुमान प्रणालीलाई थप सुदृढ बनाउन उपकरण विस्तार, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार विकास तथा दक्ष जनशक्ति उत्पादनमा जोड दिने नीति लिएको बताउनुभयाे ।
पूर्वसूचना प्रणालीलाई सशक्त बनाउँदै जोखिममा रहेका समुदायसम्म समयमै सूचना पु¥याउने कार्यलाई प्राथमिकतामा राखिएको उहाँको भनाई छ । जल, मौसम, जलवायु र हिमसम्बन्धी अवलोकन तथा तथ्यांक संकलनमा गरिने लगानीले भविष्यमा अध्ययन, अनुसन्धान, विपद् न्युनिकरण र पूर्वतयारीमा सहयोग गर्ने बताउनु भयो ।
विकासका हरेक आयामसँग मौसमसम्बन्धी सूचनाको प्रत्यक्ष सम्बन्ध रहेको उहाँको भनाई छ । सिमित स्रोतसाधनका बाबजुद पनि विभागले मौसमसम्बन्धि जानकारी समयमा नै उपलब्ध गराएको बताउनुभयो । नेपालको भौगोलिक संरचनाका कारण पनि यहाँको मौसम प्रणाली अत्यन्त संवेदनशील रहेको छ । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा असामान्य वर्षा, बाढी, पहिरो, तातो हावाको लहर, हिमनदी पग्लिने दरमा वृद्धि तथा हिमताल विस्फोटजस्ता जोखिमहरू तिब्र बन्दै गएको उहाँले बताउनुभयो ।
यस्ता घटनाले जनजीवन, पूर्वाधार र राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पारिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘आजको जल मौसम, जलवायू र हिउँको अवलोकन र तथ्याङ्क संकलनमा गरेको लगानी नै भोलीको अध्ययन, अनुसन्धान, पूर्वानुमान, विपद् न्युनिकरण पूर्वतयारी सहितको सुरक्षित भविष्य सुनिश्चित गर्न सक्दछ ।
विकासका प्रत्येक आयामसंग जोडिएको मौसम सम्बन्धी जानकारी महत्वपुर्ण रहेको छ । स्रोतसाधनको अभावकोबीच विभागले अध्ययन अनुसन्धान र जानकारी दिइरहेको छ । नेपालले मानव संसाधन सञ्चालितदेखि स्वचालित मापन केन्द्रहरु, स्याटलाईट लगायतका अत्याधुनिक प्रविधिहरु स्थापित गरेका छौँ । त्यसरी नै यसको सञ्चालन र व्यवस्थापनलाई निरन्तरता दिन पनि अति आवश्यक रहेको छ ।
नेपालको भोगोलिक विविधता, हिमाल, पहाड र तराईको कारण यहाँको मौसम तथा जनवायू प्रणाली अत्यन्त जटिल र संवेदनशील रहेका छन् । पछिल्ला वर्षहरुमा देखिएको जलवायु परिवर्तनको प्रभावले हाम्रो देशमा विभिन्न किसिमका जलवायुजन्य विपद्हरुको जोखिम बढाइरहेको छ । असामान्य वर्ष, वाढी, पहिरो, तातो हावाको लहर, हिमनदी तथा हिमक्षेत्र तिव्र रुपमा पग्लिरहेको अवस्था र हिमतालको सिर्जना, विष्फोट लगायत केही दशक पहिलेदेखिको दोजर विकासले चुनौती खडा गरेको छ ।
विशेषगरी महिला र बालबालिकामा भाषाको समस्याका कारण पूर्वसूचनाको पहुँच नपुग्ने गरेको उहाँले बताउन भयो । मन्त्री सिन्हाले प्रभावकारी सूचना प्रणालीमार्फत विपद् जोखिम न्युनिकरण र सुरक्षित भविष्य निर्माणमा लागि सरकारले प्राथमिकता दिएर काम गरिहेको बताउनु भयो । त्यसको लागि आवश्यक निति नियमको बनाउने तयारी थालिएको पनि जानकारी दिनुभयो ।