निगम आधा सिलिन्डर बेच्न भन्छ, भन्सारमा देखिन्छ तीन महिनाकै उच्च आयातमा ग्यास

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौं– इरान–अमेरिका युद्धका कारण पेट्रोलियमदेखि खाना पकाउने ग्यासमा समेत हुने अभावलाई देखाएर नेपाल आयल निगमले बजारमा आधा सिलिन्डर ग्यास बेच्नका लागि भनेको छ।

सोहीअनुसार विभिन्न कम्पनीले आधा सिलिन्डर मात्र ग्यास बजारमा लैजान थालेका छन्। तर, दुई कारणले बजारमा यस्तो कृत्रिम समस्या देखाउन खोजिएको पुष्टि हुन्छ।

पहिलो भारतबाट आयात हुने ग्यासमा कुनै महँगी र कमी भएको पाइएको छैन। र, भारतीय कम्पनीले पनि नेपालमा मूल्य बढाएर पठाएको औपचारिक पुष्टि हुन सकेको छैन।

अर्कोचाहिँ नेपालमा ग्यास पर्याप्त मात्र होइन तीन महिनाकै उच्च दरमा आइरहेको तथ्यांक भन्सारमा देखिन्छन्।

भन्सार विभागको तथ्यांक अनुसार फागुनमा ५१ हजार १९२ टन ग्यास आयात भएको छ। यो पुस र माघको तुलनामा उच्च हो। पुसमा ४७ हजार ४६० टन र माघमा ४६ हजार २८५ टन ग्यास भित्रिएको थियो।

सामान्यतया जाडो महिनामा ग्यासको माग बढ्ने गरेको थियो। तर पुस र माघमा विगतको तुलनामा आयात कम भएको तथ्यांकले देखाएको छ।
खाडीको जारी तनाव र आयातमा आएको कमीका कारण उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्।

यही कारण नेपाल आयल निगम ले २८ फागुनदेखि आधा सिलिन्डर मात्रै वितरण गरिरहेको छ।

गत वर्षको फागुनभन्दा यस वर्ष ३ हजार ४३८ टन बढी ग्यास आयात भएको  भन्सार तथ्यांकले देखाएको छ।

समग्रमा हेर्दा चालु आवको साउनदेखि फागुनसम्म कुल ३ लाख ७२ हजार २८२ टन ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिभन्दा १० हजार १८७ टन बढी हो। यसले देखाउँछ कि कुल आयात र पछिल्लो महिनाको आयात दुवै गत वर्षभन्दा बढी छ।

कतिपय उपभोक्ता अधिकारवादीका अनुसार युद्धका कारण पेट्रोलियम र ग्यासको मूल्य बढ्ने भएकाले व्यापारीले नै ग्यास भण्डारन गरेर राखेको हुन सक्ने अनुमान गरेका छन्। यसमा सरकार र सम्बन्धित निकायले खोजीनीति गर्नुपर्ने आवश्यक औंल्याइएको छ।