
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा. डा. रामप्रसाद ज्ञवालीले नयाँ सरकार गठनसँगै आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास जनतामा देखिएको बताएका छन् ।
हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछि झण्डै दुई तिहाइ बहुमतको सरकार गठन हुने र त्यसले राजनीतिक स्थिरता कायम भई आर्थिक नीतिमा स्थायीत्व आउने अपेक्षा गर्न सकिने उनले उल्लेख गरे। उनले सरकारले आर्थिक नीतिमा स्थायित्व कायम गर्नु, जेन जेड आन्दोलनबाट भएको क्षतिको पुनर्निर्माणलाई प्राथमिकता दिनु र निजी क्षेत्रको लगानी वातावरण सुधार गर्नु आवश्यक रहेकामा जोड दिए ।
“सरकार परिवर्तनसँगै आर्थिक नीतिमा बारम्बार परिवर्तन गर्दा व्यावसायिक क्षेत्र र लगानीकर्तामा अनिश्चितता सिर्जना हुन्छ । एक वर्ष एउटा नीति र अर्को वर्ष अर्को नीति परिवर्तन गर्ने प्रवृत्तिले व्यावसायिक अपेक्षामा प्रतिकूल प्रभाव पार्छ,” प्रा.डा. ज्ञवालीले भने, “अब नयाँ सरकार आफ्नो कार्यकालसम्म रहने जनताले अपेक्षा गरेका छन् । त्यस्तो सरकारबाट आर्थिक नीतिमा दीर्घकालीन स्थायित्व आउने विश्वास गर्न सकिन्छ । नयाँ सरकारले पाँच वर्षसम्म आर्थिक नीतिमा स्पष्टता र स्थायित्वको प्रत्याभूति दिनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार जेन जेड आन्दोलनबाट भएको भौतिक क्षतिलाई पुनर्निर्माणमार्फत समाधान गर्ने हो भने त्यसले मुलुकमा लगानीको वातावरण विस्तार गर्न सहयोग पुर्याउँछ । “पुनर्निर्माणमा लगानी बढ्दा आर्थिक गतिविधि चलायमान हुन्छ,” उनले भने । विसं २०७२ को विनाशकारी भूकम्पपछिको अनुभव स्मरण गर्दै प्रा. डा. ज्ञवालीले पुनर्निर्माणका कारण त्यसपछिका वर्षहरूमा आर्थिक वृद्धि अपेक्षाकृत तीव्र भएको उदाहरण दिए ।
पछिल्लो समय मुलुकमा सरकारी लगानीको अनुपात केही सुधार हुँदै गएको भए पनि निजी क्षेत्रको लगानी भने अझै अपेक्षाअनुसार बढ्न नसकेको उनले उल्लेख गरे । प्रा. डा. ज्ञवालीले जेन जेड आन्दोलनका क्रममा उद्योग-व्यवसायीका क्षेत्रमा भएको क्षति र परेको असरले लगानीकर्ताको मनोबल कमजोर भएको अवस्थामा सरकारले त्यसलाई सम्बोधन गर्नेगरी निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नयाँ नीतिगत व्यवस्था गर्नुपर्ने सुझाव दिए ।
“अहिले निजी क्षेत्रलाई सबैभन्दा आवश्यक कुरा भनेको विश्वास र स्थिर वातावरण हो,” उनले भने, “सरकारले लगानीकर्तालाई स्पष्ट रूपमा आश्वस्त पार्नुपर्छ कि आर्थिक स्थायित्व कायम गरिन्छ र आवश्यक नीतिगत तथा संस्थागत सहयोग उपलब्ध गराइन्छ ।”
सरकारले नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने तथा निजी क्षेत्रले लगानी, उत्पादन र रोजगारी सिर्जनामा सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव छ । दुवै पक्षको सहकार्यबाट मात्रै अर्थतन्त्रलाई गतिशील बनाउन सकिने उनको धारणा छ । प्रा. डा. ज्ञवालीले नयाँ सरकारले नीतिगत स्थायित्व, पुनर्निर्माण र निजी क्षेत्रको लगानी प्रवर्द्धनलाई प्राथमिकतामा राखे मुलुकको आर्थिक वृद्धि र समृद्धिको मार्ग बलियो बन्ने विश्वास व्यक्त गरे ।