फाइलअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिस्ट राष्ट्र क्युबासँग जे मन लाग्यो त्यही गर्न सक्ने बताएका छन्।
ह्वाइट हाउसमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै आफूले कुनै न कुनै रूपमा क्युबा लिने अवसर पाउने ट्रम्पले जनाएका छन्।
‘मैले यसलाई स्वतन्त्र गराऊँ वा कब्जा गरूँ, यदि तपाईं सत्य जान्न चाहनुहुन्छ भने मलाई लाग्छ कि म योसँग जे चाहन्छु त्यही गर्न सक्छु,’ क्युबा अहिले धेरै कमजोर राष्ट्र भएको जिकिर गर्दै उनले भने।
क्युबाका राष्ट्रपति मिगुएल डियाज-कनेलले केही दिनअघि सो टापुमाथि अमेरिकाले लगाएको ऊर्जा नाकाबन्दीको वार्ताद्वारा समाधान खोजिरहेको खुलासा गरेका थिए। तर उनले छलफलको विषयवस्तुबारे भने थप विवरण दिएका थिएनन्।
यस्तो समयमा ट्रम्पले क्युबासँग जे चाह्यो त्यही गर्न सक्ने बताएका हुन्।
ट्रम्पले यसअघि पनि सो राष्ट्रको मैत्रीपूर्ण कब्जा हुन सक्ने टिप्पणी गरेका थिए।
अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले सोमबार ट्रम्प सरकारले डियाज-कनेललाई हटाउन खोजिरहेको समाचार लेखेको थियो। त्यस्तो भए पनि
क्युबामा कम्युनिस्ट सरकार यथावत रहन सक्ने सम्भावना हुन्छ।
सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्रान्ति गरेर कम्युनिस्ट शासन सुरू गरेदेखि नै अमेरिकाले त्यहाँ सत्ता परिवर्तन गर्न खोजिरहेको छ।
ट्रम्पले गत डिसेम्बर महिनाको अन्त्यमा सेना पठाएर भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी अमेरिका लगेका थिए। त्यसपछि उनले क्युबामा पनि सत्ता पल्टाउन खोज्ने आँकलन गरिएको थियो। क्युबालाई दबाब हाल्न अमेरिकाले जनवरीमा भेनेजुएलाबाट क्युबा जाने तेलको ढुवानी रोकेको थियो।
फेब्रुअरी अन्त्यमा उनले इरानसँग युद्ध सुरू गरेपछि उनको ध्यान अन्तै गएको भनेर क्युबालाई राहत भएको थियो। तर इरानसँगयुद्ध चलिरहेकै बेलामा उनले क्युबामा जे चाह्यो त्यही गर्न सक्ने टिप्पणी गरेका हुन्।