प्रतिनिधि सभाको हालै सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ कर्णालीको प्रतिनिधित्व घटेको छ । ०७९ मा सम्पन्न निर्वाचनको तुलनामा फागुन २१ मा सम्पन्न निर्वाचनबाट समानुपातिकतर्फ कर्णालीको प्रतिनिधित्व घटेको हो ।
०७९ को प्रतिनिधि सभा निर्वाचनमा कर्णालीबाट समानुपातिकतर्फ ८ जनाको प्रतिनिधित्व थियो । अहिले जम्मा ५ जनाले स्थान पाएका छन् ।
पुराना राजनीतिक दलहरू नेपाली कांग्रेस, नेपाल एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा नयाँ राजनीतिक दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट १/१ जनालाई समानुपातिक सांसद बनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने समानुपातिकतर्फ कर्णालीलाई स्थान दिएको छैन । प्रत्यक्षतर्फ एकमात्र सिट जितेको सो पार्टीले जुम्लाबाट ज्ञानेन्द्रबहादुर शाही निर्वाचित भएका कारण पनि समानुपातिकमा कर्णालीलाई नसमेटेको आकलन गरिएको छ ।
समानुपातिकतर्फ कर्णालीबाट सबैभन्दा धेरै १ लाख ४१ हजार २३३ मत पाएको नेपाली कांग्रेसले कालिकोटका कालिबहादुर सहकारीलाई सांसद बनाएको छ । ०७९ मा कर्णालीबाट तीन जना महिलालाई कांग्रेसले समानुपातिक सांसद बनाएको थियो । यो पटक सांसद बनेका सहकारी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय नेता हुन् । कुनै समय शेरबहादुर देउवा पक्षधर मानिने उनी पछिल्लो समय शेखर कोइराला समूहमा रहेको चर्चा थियो । उनी खसआर्य पुरुष क्लस्टरबाट सांसद बनेका हुन् ।
कांग्रेसको कर्णाली प्रदेश उपसभापति रहेका उनी यसअघि प्रत्यक्षतर्फ चुनाव पराजित नेता हुन् । ०७४ मा कालिकोट (२) बाट प्रदेश सभा चुनाव लडेका उनी माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए ।
०५५ सालका जिल्ला विकास समितिको सभापति चुनावमा पनि उनी पराजित भएका थिए । पार्टीको दुई कार्यकाल कालिकोट जिल्ला सभापति रहेका उनी रेडक्रसको जिल्ला सभापति भएर पनि काम गरेका पुराना नेता हुन् । उनी पहिला शिक्षक थिए । कर्णालीबाट कांग्रेसले प्रत्यक्षतर्फ ५ सिट जितेको छ भने समानुपातिकतर्फ एक जनालाई सांसद बनाएको हो । समग्रमा प्रतिनिधि सभामा कर्णालीबाट कांग्रेसका ६ जनाको प्रतिनिधित्व रहनेछ ।
नेकपा एमालेले पनि कालिकोटबाटै समानुपातिक सांसद बनाएको छ । प्रत्यक्षतर्फ जम्मा १ सिट जितेको एमालेले समानुपातिकमा यशुदाकुमारी बराललाई समानुपातिक सांसद बनाएको हो । ०७९ मा प्रत्यक्षतर्फ शून्यमा झरेको एमालेले समानुपातिक मत सबैभन्दा धेरै पाएकाले दुई जनालाई सांसद बनाएको थियो ।
यद्यपि यो पटक एमाले कर्णालीमा समानुपातिकतर्फ तेस्रो स्थानमा खुम्चिँदै १ लाख २० हजार ८६३ मत पाएको छ । एमालेबाट गोरख बोगटी यो पटक समानुपातिक सांसद बन्ने चर्चा थियो । किनकि बोगटी कर्णालीबाट स्थायी कमिटी सदस्यसम्म भएका र ०७० यताका हरेकजसो चुनावका सदाबहार समानुपातिक उम्मेदवार हुन् । अन्तिममा महिला खसआर्य क्लस्टरमा यशुदाकुमारी सांसद बन्न सफल भइन् ।
एमाले र नेपाली कम्युनिस्ट पार्टी भन्दा धेरै १ लाख ३३ हजार ७४९ मत पाएको रास्वपाले सुर्खेतकी सीता वादीलाई समानुपातिकमा समेटेको छ । यद्यपि उनको विवाहपछिको बसाइ भने काठमाडौँमै छ ।
प्रत्यक्षतर्फ सुर्खेत–२ मा रास्वपाले चुनाव जितेको छ । दलित क्लस्टरको तीन नम्बरमा समेटिएकी सीता वादी वीरेन्द्रनगर नगरपालिका—११, झुप्रा खोलाकी बासिन्दा हुन् । एक संस्थाको सहयोगमा काठमाडौँको एक होस्टेलमा बसेर अध्ययन गरेकी उनको विवाह काठमाडौँमा भएको हो । निर्वाचनका बेला उनी सुर्खेत आएर चुनावी कार्यक्रममा सहभागी भएकी थिइन् । उनको नागरिकता लगायतका सबै कागजात सुर्खेतकै भएको उनका एक आफन्तले बताए । यद्यपि मतदाता नामावली भने काठमाडौँकै रहेको बताइएको छ । सीता सामाजिक अभियन्ताका पनि हुन् । रास्वपा स्रोतका अनुसार, उनी पूर्व विवेकशील पार्टीकी कार्यकर्ता हुन् ।
बालेन शाहको टिमबाट उनी समानुपातिकमा समेटिएकी हुन् । ०७९ मा कमजोर मत पाए पनि रास्वपाले जुम्लाकी विनिता कठायतलाई समानुपातिक सांसद बनाएको थियो । यो पटक प्रत्यक्ष चुनाव लडेकी कठायत पराजित भइन् ।
यता प्रत्यक्षतर्फ ४ सिट जितेको नेपाली कम्युनिस्ट पार्टीले जाजरकोटकी पार्वती विकलाई समानुपातिक सांसद बनाएको छ । दलित महिला क्लस्टरबाट उनी सांसद बनेकी हुन् । उनी माओवादी सशस्त्र युद्धकी होलटाइमर कार्यकर्ता हुन् भने पार्टीको केन्द्रीय सदस्य पनि हुन् ।
नेकपाले समानुपातिकमा १ लाख ७ हजार १०१ मतसहित कर्णालीमा चौथो स्थान पाएको छ । अघिल्लो पटक माओवादीले कर्णालीबाट १ जनालाई समानुपातिक सांसद बनाएको थियो ।
समानुपातिकमा कर्णालीबाट ४ हजार ६५७ मतमात्रै पाएको हर्क साम्पाङको श्रम, संस्कृति पार्टीले सुर्खेतकी राधिका रम्तेललाई समानुपातिक सांसद बनाएको छ । उनलाई दलित महिला क्लस्टरबाट सिफारिस गरिएको हो ।
यद्यपि यो पार्टीभन्दा धेरै मत पाएको राप्रपाले कर्णालीबाट यो पटक समानुपातिक सांसद बनाएन् । अघिल्लो पटक सल्यानकी अनिशा नेपालीलाई समानुपातिक राप्रपाले सांसद बनाएको थियो । यो पटक प्रत्यक्षतर्फ चुनाव लडेकी नेपालीको जमानत जफत भयो ।