रास्वपा सभापति लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्चमा आज पनि सुनुवाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा मंगलबार पनि सुनुवाइ हुने भएको छ ।

सभापति लामिछानेमाथि लागेको सहकारी ठगीसँगै दायर भएको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ता लिने निर्णयविरुद्धको रिटमा मंगलबार पनि सर्वोच्च मा सुनुवाइ हुने भएकाे हाे। सर्वोच्चका न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि उक्त रिटको निरन्तर सुनुवाइ हुँदै आएको हाे ।

आइतबार र सोमबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि विभिन्न जिल्लामा विचाराधीनमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाउन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिनुभएकाे थियाे । महान्यायाधिवक्ता भण्डारीको यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र युवराज पौडेल सफलले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

सर्वोच्चको यो सुनुवाइपछि सभापति लामिछानेको मुद्दामा महान्यायाधिवक्ता कार्यालयको निर्देशन कायम रहने वा नरहने भन्ने बारेमा टुंगो लाग्ने भएकाे हाे ।