
म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ को अडिसन काठमाडौंस्थित जस्मिन फिटनेस एण्ड स्पामा सफलतापूर्वक सम्पन्न भएको छ।
अडिसनमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने योग्य प्रतिस्पर्धी छनोट प्रक्रिया सुरु भएको आयोजकले जनाएको छ।

नेपालभरबाट २०० भन्दा बढी युवाहरूले आवेदन दिएको यस प्रतियोगितामा प्रारम्भिक छनोटपछि केही प्रतिस्पर्धीहरूलाई अडिसनका लागि आमन्त्रित गरिएको थियो।
अडिसनका क्रममा प्रतिस्पर्धीहरूको आत्मविश्वास, व्यक्तित्व, सञ्चार क्षमता, स्टेज उपस्थिति तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने सम्भावनाका आधारमा मूल्याङ्कन गरिएको थियो।
अडिसनको निर्णायक मण्डलमा रचना गुरुङ शर्मा, अनुप सक्सेना, स्वस्तिका ढकाल र रोजित दुवाल रहेका थिए। छोटो सूचीमा परेका प्रतिस्पर्धीहरूको नतिजा चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

अडिसनमा देखिएको उत्साहजनक सहभागिता र प्रतिभाको उच्च स्तरप्रति आयोजक टोलीले खुसी व्यक्त गरेको छ। साथै यस वर्षको छनोट प्रक्रियामा सहभागी सबै प्रतिस्पर्धीहरूलाई उज्ज्वल भविष्यको कामना पनि गरिएको छ।
म्यानहन्ट इन्टरनेशनल नेपाल २०२६ ले विश्व मञ्चमा आत्मविश्वास, करिश्मा र क्षमता सहित नेपालको प्रतिनिधित्व गर्न सक्ने उत्कृष्ट पुरुष प्रतिभा खोज्ने आफ्नो अभियानलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।