एनआरएनएको १२औँ अधिवेशन सुरु : नेपालको विकास र समृद्धिमा योगदान गर्न एनआरएनलाई परराष्ट्रमन्त्रीको आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

बालानन्द शर्माले नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउन गैरआवासीय नेपालीलाई आग्रह गरेका छन् । काठमाडौंमा शनिबारदेखि सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२ औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै मन्त्री शर्माले औद्योगिक विकास, रोजगारी सिर्जनामा एनआरएनले योगदान पुर्‍याउने उल्लेख गरे । परराष्ट्रमन्त्री शर्मा र पूर्वप्रधानमन्त्री झलनाथ खनालले पानसमा दीप प्रज्वलित गरेर अधिवेशनको उद्घाटन गरेका हुन् । प्रवासमा रहेर नेपाली सांस्कृतिक दूतका रूपमा रही नेपाली माटोमा योगदान पुर्‍याएको भन्दै एनआरएनको उनले प्रशंसासमेत गरे ।

कार्यक्रमा एनआरएनएका कार्यकारी अध्यक्ष महेशकुमार श्रेष्ठले संघभित्रको विवाद अन्त्य गर्दै एकता स्थापित भएको र समृद्ध नेपालको अभियानमा गैरआवासीय नेपालीको योगदान रहने प्रबिद्धता व्यक्त गरे । गैरआवासीय लगानीलाई वैदेशिक लगानीभन्दा फरक लिनुपर्ने र विदेशमा रहेका नेपालीको पुँजी, सिप, ज्ञान सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यकारी अध्यक्ष डा. बद्री केसीले प्रधानमन्त्रीको हातबाट गैरआवासीय नेपाली नागरिकता लिएको, तर आज त्यो कार्यान्वयन नहुने अवस्था रहेको भन्दै उनले गैरआवासीय ऐन, अन्य ऐन परिमार्जन गर्नुपर्ने बताए । पुरानो नागरिकता निष्क्रिय भएको र नयाँ गैरआवासीय नागरिकताले पनि काम नगरेको भन्दै छिट्टो कानुनी जटिलता हटाउन सरकारलाई उनले अनुरोध गरे । आउने सरकारले सय दिनभित्र गैरआवासीय ऐन संसद्मा पुर्‍याएर कार्यान्वयन ल्याउन उनले माग गरे । उनले लगानीसम्बन्धी कानुन पनि परिमार्जन गरेर सहजीकरण गर्न र गैरआवासीय नेपालीको लगानी सहजै भित्र्याउने वातावरण बनाउन पनि माग गरे ।

एनआरएनएको एकतामा पूर्वअध्यक्षहरू खुसी
संस्थापक अध्यक्ष उपेन्द्र महतोले संघको एकताप्रति हर्ष व्यक्त गरे । व्यक्तिगत सफलताको जुनसुकै उचाइमा पुगे पनि देश नबनेमा त्यसको अर्थ छैन भन्दै नेपालका लागि नेपाली नाराका साथ गैरआवासीय नेपाली अभियान सुरु गरिएको उनले बताए । पूर्वअध्यक्ष जीवा लामिछानेले नागरिकता, लगानीलगायत थुप्रै मुद्दा निर्णायक तहमा पुग्दा विभाजनले एनआरएनए अभियान पछाडि परेको बताए । पूर्वअध्यक्ष भवन भट्टले एकता अधिवेशन खुसीको कुरा भएको बताए । प्रवासी नेपालीबाट लगानी ल्याउने मेकानिजम बनाएमा सहजै ९० राष्ट्रबाट लगानी भित्रिने भन्दै उनले हाइड्रो, एग्रिकल्चर, टुरिजम र आइटीमा केन्द्रित गर्नुपर्ने बताए ।

पूर्वअध्यक्ष आरके शर्माले गैरआवासीय नेपाली नागरिकताका साथसाथै श्रमिक नेपालीको सामूहिक लगानीबाट समृद्धिको अभियान अगाडि बढाउन जरुरी रहेको बताए । पहिलो महिला अध्यक्ष रबिना थापाले असहमति जनाए पनि सहमतिमा जानु संस्थाको उद्देश्य भएको बताउँदै छुटेका साथीलाई जोड्नुपर्ने बताइन् । पूर्वअध्यक्ष विनोद कुँवरले एकता महाधिवेशनले पूर्णता दिएको र आउने कार्यसमितिले अझै एकतालाई पूर्णता दिने बताए ।

सरकारले सघाउने, निजी क्षेत्रले साझेदारी गर्ने 
नेपालमा एनआरएनको लगानी भित्र्याउन सरकारले सहजीकरण गर्ने तथा निजी क्षेत्रले सघाउने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औँ अधिवेशनको अवसरमा आयोजित ‘रोडम्याप टु इनभेस्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’मा बोल्दै सरकार र निजी क्षेत्रका प्रतिनिधिले यस्तो बताएका हुन् । नेपाल लगानी बोर्डका सिइओ सुशील ज्ञवालीले सरकार, एनआरएनए र निजी क्षेत्रले संयुक्त काम गर्नुपर्ने बताएका छन् । उनले अब दुईतिहाइ सरकार आउन लागेकाले आत्मविश्वास कायम गर्न एकसाथ लाग्नुपर्ने बताए । यसमा लगानी बोर्डले सघाउने उनले प्रतिबद्धता जनाए । नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक रामशरण खरेलले ८० लाख नेपालीलाई नेपालको दीर्घकालीन आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भन्ने मुख्य विषय भएको बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले नीतिगत स्थायित्व, लगानी र विश्वासमा जोड दिए । उनले गैरआवासीय लगानीका लागि संस्थागत संयन्त्र आवश्यक भएको बताए । नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले नेपालको आर्थिक विकासमा गैरआवासीय नेपालीको लगानी महत्वपूर्ण भन्दै राज्यले वातावरण बनाउनुपर्ने बताए । नेपालको अर्थतन्त्रलाई १०० बिलियन डलरको बनाउन गैरआवासीय नेपाली (एनआरएन)को लगानी अपरिहार्य रहेको उनले बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले नेपालमा उद्यमशीलताको ठुलो सम्भावना रहेको बताए ।