
सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका चार किशोरको पोलिग्राफ र डिएनए परीक्षण सुरु गरिएको छ । पोलिग्राफ जाँच शुक्रबारबाटै सुरु भएकामा डिएनए परीक्षणका लागि चारैजनाको रगतको नमुना नेपाल प्रहरीको महाराजगन्जस्थित विधि विज्ञान प्रयोगशालामा ल्याइएको छ । साथै, बलात्कारपछि मुत्यु भएकी इनिसाको यौनांगबाट लिइएको स्वाब पनि प्रयोगशालामा ल्याइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाका अनुसार शुक्रबारदेखि पोलिग्राफ जाँच सुरु भएको बताए । शनिबार बिदाका दिन भएकाले आइतबारदेखि निरन्तरता दिइने उनको भनाइ छ । ‘इनिसा बलात्कार घटनामा पक्राउ परेका चारमध्ये शुक्रबार एक किशोरको बयान भयो । त्यसलगत्तै पोलिग्राफ परीक्षण पनि भयो । शनिबार बिदा भएकाले अब आइतबारदेखि पुन: बयान र पोलिग्राफ परीक्षण हुन्छ,’ डिएसपी बुढथापाले भने, ‘बयान र परीक्षणपछि घटनामा संलग्न व्यक्ति यकिन होला ।’
चारै किशोरहरूको डिएनए परीक्षणका लागि रगतको नमुना र मृतक इनिसाको स्वाब प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको सुर्खेत प्रहरी प्रमुख सुधीरराज शाहीले जानकारी दिए । प्रयोगशालाबाट रिपोर्ट आएपछि मात्रै थप तथ्य खुल्ने उनले बताए । ‘पक्राउ परेका चार किशोरको रगतको नमुना र मृतकको स्वाब परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको छ । त्यहाँबाट रिपोर्ट आएपछि मात्रै घटनामा संलग्नबारे यकिन होला । अनुसन्धानमा प्राविधिक परीक्षणलाई पनि सावधानीपूर्वक हेरेका छौँ,’ उनले भने ।
सुर्खेतको गुर्भाकोट नगरपालिका– ६, बडाखोली स्थायी घर भई वीरेन्द्रनगर– १ बस्दै आएकी इनिसा २३ फागुनमा वीरेन्द्रनगर– ४ स्थित सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् । लगत्तै उनलाई प्रादेशिक अस्पताल कालागाउँमा पुर्याइएकोमा डाक्टरले मृत घोषणा गरेका थिए । यौनांगबाट अत्यधिक रक्तस्राव हुँदा उनको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले पुष्टि गरिसकेको छ ।
जिप्रका सुर्खेतका अनुसार घटनामा संलग्न १६ वर्षीय एक किशोर घटना भएकै दिन पक्राउ परेका थिए । त्यसको भोलिपल्ट इनिसाको परिवारले सामूहिक बलात्कार भएको भन्दै अन्य तीन किशोरविरुद्ध पनि जाहेरी दिएपछि १५, १६ र १७ वर्षका उनीहरू पक्राउ परेका थिए । सुर्खेत प्रहरी प्रमुख शाहीले घटनामा संलग्न व्यक्ति लगभग पहिचान भएको र केही प्राविधिक तथ्य अझै संकलन गर्न बाँकी रहेकाले नखुलाइएको बताए ।