पोखरा । पोखरा महानगरपालिकाका पूर्व मेयर तथा विकासप्रेमी नेता कृष्ण थापाको असामयिक निधनले प्रटकिय राजधानि पोखरा यतिबेला गहिरो शोकमा डुबेको छ। उहाँको निधनको खबरले राजनीतिक वृत्त र आम पोखरेली जनमानसलाई स्तब्ध बनाएको छ।
पोखराको विकास र स्थानीय प्रशासनको सुदृढीकरणमा अतुलनीय योगदान पुर्याउनुभएका थापाको सम्मानमा पोखरा महानगरपालिकाले भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ। महानगरपालिका परिवारले विज्ञप्ति जारी गर्दै पूर्व अभिभावकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
महानगरपालिकाले दिएको आधिकारिक जानकारी अनुसार, स्वर्गीय थापाको पार्थिव शरीरलाई अन्तिम बिदाइ र श्रद्धाञ्जलीका लागि आजै बिहान १०:०० बजे पोखराको शान्तिवनस्थित महानगरपालिकाको कार्यालय परिसर (दमकल कार्यालय) मा राखिनेछ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सम्पूर्ण नगरबासी, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा शुभचिन्तकहरूलाई उक्त स्थानमा उपस्थित भई दिवंगत आत्माप्रति सम्मान प्रकट गर्न हार्दिक अपील गर्नुभएको छ। उहाँले थापालाई एक दूरदर्शी र जनप्रेमी नेताको रूपमा स्मरण गर्नुभएको छ।
स्वर्गीय थापाको सम्मान र शोक प्रकट गर्न महानगरपालिकाले भोलि, चैत १ गते पोखरा महानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालयहरू, वडा कार्यालयहरू तथा सबै शिक्षण संस्थाहरूमा सार्वजनिक बिदा दिइने निर्णय गरिएको छ।
शोकको यस घडीमा आजदेखि आगामी तीन दिनसम्म महानगरपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरूमा राष्ट्रिय झण्डा र महानगरपालिकाको झण्डा आधा झुकाउने निर्णय भएको छ।
मेयर धनराज आचार्यले भने , “स्वर्गीय कृष्ण थापाज्यूको निधनले पोखराले एक सच्चा अभिभावक र विकासको संवाहक गुमाएको छ। उहाँले पोखराको हितका लागि चाल्नुभएका कदम र देखाउनुभएको मार्गचित्रलाई हामी सधैं सम्मान गर्नेछौँ। उहाँको अभाव पोखराले सधैं महसुस गरिरहनेछ।”
महानगरपालिका परिवारले यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। उहाँको सरल स्वभाव र विकासवादी सोच पोखरेली जनताका माझ सधैं जीवन्त रहने विश्वास गरिएको छ।