भाइरल भिडियोबारे सांसद विना गुरुङको स्पष्टीकरण: ‘तामझाम गर्ने मेरो चाहना होइन’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे प्रतिनिधिसभा सदस्य बिना गुरुङले स्पष्टीकरण दिनुभएको छ। केही व्यक्तिले घेरा हालेर आफूलाई बाहिर लैजाँदै गरेको दृश्य देखिएको भिडियो भाइरल भएपछि गुरुङले सामाजिक संजाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै उक्त भिडियोको केवल एक भाग मात्र सार्वजनिक भएको बताउनुभएको हो।

गुरुङले आफ्नो स्टाटसमा लेख्नुभएको छ कि फागुन २७ गते कास्की जिल्ला कमिटीले पोखराको सृजनाचोकस्थित ह्वाइटहाउस पार्टी प्यालेसमा कास्की क्षेत्र नम्बर १, २ र ३ का प्रतिनिधिसभा सदस्यहरुलाई शुभकामना तथा मतदातालाई धन्यवाद दिने कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम बिहान ११ बजेका लागि तय भए पनि प्राविधिक समस्याका कारण करिब १२ बजे मात्र सुरु भएको उहाँले बताउनुभयो। कार्यक्रम सञ्चालनका क्रममा हलको स्पिकरले राम्रो काम नगरेपछि स्पिकर परिवर्तन गर्नुपरेको र पहिले भाषण गरिसक्नुभएका नेताको कुरा स्पष्ट सुनिएन भन्ने गुनासो आएपछि पूर्व सांसद शिव नेपालीलाई पुनः बोल्न लगाइएको उहाँले उल्लेख गर्नुभएको छ। त्यसका कारण कार्यक्रम झण्डै २ः१५ बजेतिर मात्र सकिएको थियो।

गुरुङका अनुसार त्यसै दिन काठमाडौं जानका लागि बुद्ध एयरको ओपन टिकट लिइएको थियो। सुरुमा साँझ ४ः५० बजे उडान तय भए पनि पछि एयरलाइन्सले समय परिवर्तन गरी ३ः४० बजे उडान राखिएको जानकारी दिएको थियो। “कार्यक्रमपछि नागरिकबाट शुभकामना लिने क्रममा खादा लगाइदिने र फोटो खिच्न चाहने शुभेच्छुकको भीड अत्यधिक भयो। म पटक–पटक माफी माग्दै हतारमा निस्कन खोजिरहेको थिएँ,” गुरुङले लेख्नुभएको छ।

उहाँका अनुसार स्वयंसेवकहरूको सहयोगमा कार्यक्रमस्थलबाट बाहिर निस्कने क्रममा केही युवाहरूले घेरा हालेर गाडीसम्म पुर्‍याएका थिए। त्यही दृश्य सामाजिक सञ्जालमा भाइरल भएको हो। “त्यो दृश्य भिडियोमा देखिएको छ, जुन पछि हेर्दा मलाई पनि अस्वाभाविक लाग्यो। मैले कसैसँग सुरक्षा दिनुस् भनेर अनुरोध गरेको थिइन र घेरा हालेर ल्याउने दाजुभाइहरूलाई व्यक्तिगत रूपमा चिन्दिन,” गुरुङले उल्लेख गर्नुभएको छ। भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएका छन्। केही प्रयोगकर्ताले “जनताले परिवर्तनको आशा गरेका बेला यस्ता दृश्यले आलोचना हुनु स्वाभाविक हो, जनप्रतिनिधिले हरेक कदम सोचेर चाल्नुपर्छ” भन्दै टिप्पणी गरेका छन्।

यस्तै केहीले “जनताको विश्वास कायम राखेर काम गर्नुस्, आलोचनालाई बेवास्ता गर्नुस्” भन्दै समर्थन पनि जनाएका छन्। गुरुङले भने आफू व्यक्तिगत रूपमा भिडियोका कारण विचलित नभएको तर कास्की क्षेत्र नम्बर ३ का मतदाताको भावना चोट पुगेको हुन सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। “मलाई अरूले जे भने पनि फरक पर्दैन। तर जसले मलाई विश्वास गरेर आफ्नो प्रतिनिधि बनाउनु भयो, उहाँहरूले यो भिडियो देख्दा कस्तो महसुस गर्नुभयो होला भन्ने मेरो चिन्ता हो,” उहाँले लेख्नुभएको छ।

उहाँले आफू क्षेत्रको विकास र नागरिकको सेवा गर्न प्रतिनिधि बनेको भन्दै अनावश्यक सुरक्षा र तामझाम आवश्यक नभएको उल्लेख गर्नुभएको छ। “म सधैं नागरिकको आवाज बोकेर हिँड्नेछु। मेरो सुरक्षा नागरिकले नै गर्नुहुनेछ भन्ने विश्वास छ,” गुरुङले उल्लेख गर्नुभएको छ। अन्त्यमा गुरुङले कास्की क्षेत्र नम्बर ३ का नागरिकले दिएको विश्वासलाई कुनै हालतमा डग्मगाउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।