इन्धन आपूर्ति गर्ने सैन्य विमानका चार क्रु मेम्बरको मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इराकको पश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति गर्ने सैन्य विमानका चालकदलमध्ये चार जनाको मृत्यु पुष्टि भएको छ । अमेरिकी सेनाको मध्यपूर्व कमान्ड सेन्टकमले शुक्रबार सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै ६ जनामध्ये ४ चालकदल सदस्यको मृत्यु भएको जनाएको हो।

दुर्घटनामा परेको विमान बोइङको केसी–१३५ स्ट्राटोट््याङ्कर हो । यस विमानले आकाशमै अन्य लडाकु विमानमा इन्धन भर्ने काम गर्छ । सेन्टकमका अनुसार विमान मैत्रीपूर्ण हवाई क्षेत्रभित्र दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक अनुसन्धानले विमान शत्रुको आक्रमण वा आफ्नै पक्षको फायर कारण खसेको नभएको देखाएको छ।

दुर्घटनाको वास्तविक कारणबारे भने अनुसन्धान जारी रहेको सेन्टकमले जनाएको छ । सेन्टकमका अनुसार उक्त घटनामा दुई विमान संलग्न थिए । दुर्घटनाग्रस्त केसी–१३५ सँगै उडिरहेको अर्काे विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको बताइएको छ।

मृत्यु भएका चार चालकदल सदस्यको नाम भने परिवारलाई जानकारी नदिइएसम्म सार्वजनिक नगर्ने अमेरिकी सेनाले जनाएको छ । सामान्यतया यसका लागि २४ घण्टासम्म प्रतीक्षा गरिन्छ।