निर्वाचन आयोगले समानुपातिक मतगणना सकेर दलहरूले पाएको मतका आधारमा पाउने सिट संख्या तोक्दै बन्दसूचीमध्येबाट नाम सिफारिस गर्न पत्राचार गरेको छ ।
यससँगै दलहरु बन्दसूचीबाट क्लस्टर अनुसारका नाम छनोटमा व्यस्त छन् । आयोगले थ्रेसहोल्ड कटाएका राजनीतिक दलहरूलाई पाएको मतका आधारमा कलस्टरअनुसार सांसदहरूको सूची पठाउन बिहीबार ६ दललाई पत्राचार गरेको थियो ।
आयोगको पत्र पाएपछि ६ वटै दल बन्दसूचीमा रहेका नामहरूमध्येबाट क्लष्टर मिलाउन लागि परेका हुन । प्रतिनिधिसभामा समानुपातिकतर्फ नेकपा एमालेले १४ लाख ५३ हजार ४०८ मत पाएको छ । यसका आधारमा उसका समानुपातिक १६ सांसद हुने भएकाले ती सांसदहरुको लिस्ट तयार गरेर एमालेले आइतबार बुझाउने तयारी गरेको छ ।
एमालेका एक नेताका अनुसार आयोगले दिएको समयमा लिस्ट बुझाउनेगरी सर्टिङको काम भइरहेको छ । १६ जना समानुपातिक सूचीबाट ३३ प्रतिशत महिला पर्नेछन्, जसमा आदिवासी जनजाति, खस आर्य, मुस्लिम, थारु क्लस्टबाट पनि समेट्नुपर्नेछ । दुवैतर्फ २५ सांसद जितेको एमालेले त्यसको ३३ प्रतिशत महिला पठाउँदा नौ जना हुनुपर्नेछ ।
जसअनुसार बन्दसूचीमा रहेका महिलाहरुमध्ये भूमिका लिम्बू सुब्बा (आदिवासी जनजाति), पद्मा अर्याल (खस आर्य), एशुदाकुमारी बराल (पिछडिएको क्षेत्र), विष्णुमाया विक ( दलित), मञ्जुकुमारी चौधरी (थारु), रिगंला यादव (मधेशी) र साजिदा खातुन सिद्दिकी (मुस्लिम) पर्ने लगभग पक्का जस्तै छ । महिला कल्स्टरबाट थप एक महिला समेटिने बताइएको छ ।
त्यसैगरी सोनाम छिरिङ लामा (पिछडिएको क्षेत्र), रामबहादुर थापा (आदिवासी जनजाति), गुरुप्रसाद बराल (खस आर्य),जितबहादुर दर्जी गौतम (दलित), कृपाराम राना (थारु), चन्द्रश्वर मण्डल (मधेशी) र एजाज आलाम (मुस्लिम) क्लष्टरबाट छानिने देखिन्छ ।
यसैगरी थप एक जना महिला जुन क्षेत्रबाट पठाए पनि हुने देखिएको छ । प्रत्यक्षतर्फ नेकपा एमालेबाट एक जना पनि महिलाले नजितेकाले नौ जना महिलाले स्थान पाउने भएका हुन् ।