तेलको मूल्यमा छिटै सोचेको भन्दा धेरैले घट्छः ट्रम्प

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कच्चा तेलको भाउमा छिटै नै सोचेको भन्दा धेरै नै कमी आउने दाबी गरेका छन् । अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण तेलको मूल्य बढिरहेको बेला ट्रम्पले यस्तो टिप्पणी गरेका हुन् । केन्टकीमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले ३२ देशले तेलको रणनीतिक भण्डारबाट तेल झिकेर बजारमा ल्याउने निर्णय गरेको उल्लेख गर्दै त्यसले मूल्य घटाउन ठूलो प्रभाव पार्ने बताएका छन् ।

यसअघि सिनसिनाटीमा एउटा व्यवसायिक प्रतिष्ठानको भ्रमणका क्रममा उनले तेलको मूल्यमा हुने उतार–चढावलाई युद्धसँग सम्बन्धित कुरा भएको बताएका थिए । ट्रम्पले भने, ‘तेलको मूल्य निकै घट्नेछ । यस्तो युद्धका समयमा मूल्य बढ्छ र पछि घट्छ, यो लगभग अनुमान गर्न सकिने कुरा हो ।’ अहिलेको वृद्धि अपेक्षा गरिएकोभन्दा कम भएको भन्दै उनले भविष्यमा तेलको मूल्य कसैले अनुमान गरेको भन्दा धेरैले घट्ने दाबी पनि गरे ।

ट्रम्पले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हर्मुज जलडमरुको अवस्थाबारे पनि टिप्पणी गर्दै अमेरिका त्यहाँको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताए । अमेरिकी कारबाहीका कारण इरानका धेरै डुङ्गा नष्ट भएको र अहिले त्यहाँको अवस्था नियन्त्रणमा रहेको दाबी पनि ट्रम्पले गरेका छन् ।