मधेसमा आँप उत्पादन बढ्ने सङ्केत, प्रत्येक बोटमा ढकमक्क फूल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मधेस प्रदेशका विभिन्न जिल्लामा यस वर्ष आँप उत्पादन बढ्ने सम्भावना देखिएको छ । फागुन महिना सुरु भएसँगै आँपका रूखमा ढकमक्क फूल लागेका कारण उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादवले बताए ।

उनका अनुसार धान उत्पादनमा केही कमी आए पनि यसपालि आँप खेतीले किसानलाई राम्रो आम्दानी दिलाउने अपेक्षा गरिएको छ । विशेषगरी धनुषा, सिराहा, सप्तरीलगायतका जिल्ला आँप खेतीका लागि प्रख्यात मानिन्छन् । पूर्व–पश्चिम राजमार्ग आसपासका उत्तरी क्षेत्रका हजारौँ किसानले व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने मधेसको दक्षिणी भेगमा अझै पनि परम्परागत रूपमा आँप उत्पादन हुँदै आएको छ ।

मधेस प्रदेशमा उत्पादन हुने आँपको माग देशका प्रमुख सहरहरू काठमाडौँ, पोखरा लगायतका बजारमा अत्यधिक छ । यही कारणले फूल लाग्नेबित्तिकै व्यापारीहरूले बगैंचा नै ठेक्कामा लिने गरेको स्थानीय किसान बताउँछन् ।

कृषि सम्बन्धी एक तथ्याङ्क अनुसार देशभर करिब ४२ हजार ७ सय ७३ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ, जसमध्ये मधेस प्रदेशमा मात्र करिब २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती गरिन्छ ।

कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी सिराहा जिल्लामा १ लाख ४ हजार ६७६ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ भने सबैभन्दा कम पर्सामा ४ हजार ७३१ मेट्रिक टन उत्पादन हुने गरेको छ । कुल उत्पादनको करिब ७७.१ प्रतिशत आँप मधेस प्रदेशमै फल्ने गरेको तथ्याङ्कले देखाउँछ ।

आँपमा लाग्ने रोग तथा किराको जोखिम भने कायम छ । कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख रामचन्द्र यादवका अनुसार आँपको फूल झर्ने समस्या मधुवा लगायतका किराका कारण बढी देखिन्छ । त्यसैले फूल लाग्नुभन्दा अघि र साना दाना देखिन थालेपछि उचित समयमा औषधि प्रयोग गर्न आवश्यक हुने उनले बताए ।

धनुषा जिल्लामा धनुषा नगरपालिका, मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, चारनाथ नगरपालिका लगायतका क्षेत्रलाई आँप उत्पादनको ‘पकेट एरिया’ मानिन्छ । बटेश्वर क्षेत्रमा त हरेक वर्ष आँप मेलासमेत आयोजना हुने गरेको छ ।

धनुषाको नारायण नगरपालिका–५ का किसान ज्योति झाले यस वर्ष आँपको फूल निकै राम्रो लागेको बताए । उनले भने, ‘यसपालि फूल धेरै लागेको छ । तर झर्ने सम्भावना पनि हुन्छ । यदि मौसम अनुकूल रह्यो भने विगतभन्दा धेरै उत्पादन हुनेमा हामी विश्वस्त छौँ ।’

महोत्तरीस्थित मटिहानी नगरपालिका–३ का रहमान कवारीले पछिल्लो वर्षको तुलनामा यस वर्ष आपको फूल राम्रो लागेको बताए । उत्पादन भएको आँप बजारमा उचित पहुँच नभएका कारण सड्ने डरले सस्तोमा बेच्नु पर्दै आएको विगतको अनुभव सुनाउँदै उनले बजार व्यवस्थापनमा राज्यबाट सहयोगको अपेक्षा गरे ।

कृषि विज्ञहरूका अनुसार समयमै रोग नियन्त्रण, उचित स्याहार र अनुकूल मौसम भए यस वर्ष मधेस प्रदेशमा आँप उत्पादन उल्लेख्य रूपमा बढ्ने अपेक्षा गरिएको छ ।