थाइल्यान्डले आफ्नो देशमा रहेका इरानी राजदूतलाई स्पष्टीकरणका लागि बोलाएको छ । बुधबार हर्मुज जलडमरु नजिक अज्ञात प्रक्षेप्यले लागेर थाई बल्क क्यारियर मयुरी नरीमा विस्फोट भएको घटनामा यो कदम चालिएको हो ।
राजदूतसँग जहाजमाथि भएको आक्रमणबारे सोधपुछ गरिने भन्दै थाइ न्यूज एजेन्सीले समाचार प्रकाशित गरेको छ । सरकारले बिहीबार दिएको जानकारीअनुसार घटनापछि जहाजमा आगलागी हुँदा तीन जना थाई चालक दल सदस्य अझै बेपत्ता छन् । जहाजमा विस्फोट हुँदा ती सदस्यहरू जहाजको इन्जिन कक्षमा ड्युटीमा रहेको अनुमान गरिएको छ ।
घटनापछि चालक दलका अन्य सदस्यहरूले लाइफ बोट प्रयोग गरेर जहाज छोडेका थिए । त्यसपछि उद्धार टोलीले २० जना चालक दल सदस्यलाई सुरक्षित उद्धार गरेको जनाएको छ । पछिल्ला दुई दिनमा हर्मुज जलडमरू आसपास कम्तीमा ६ वटा जहाज अज्ञात प्रक्षेप्यको निशाना बनेको बताइएको छ । इरान युद्ध सुरु भएयता निशानामा परेका जहाजको सङ्ख्या १३ पुगेको छ ।