इरानले बढायो खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इरानले बढायो खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमणमध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र बनाएको भन्दै क्षेत्रभरि चिन्ता बढेको छ । पछिल्ला केही घण्टामा बहराइनमा इन्धन भण्डारण ट्यांकीहरूमा आक्रमण भएको खबर आएको छ ।

यसअघि बुधबार सलालाह बन्दरगाह सहरमा रहेका इन्धन ट्यांकीहरूमा ड्रोन आक्रमण भएको थियो । त्यही दिन हर्मुज जलडमरु क्षेत्रमा एउटा मालवाहक जहाज पनि निशाना बनाइएको थियो । घटनामा तीन नाविक अझै बेपत्ता रहेको बताइएको छ भने ओमानको शाही नौसेनाको तटरक्षक बलले २० जना नाविकलाई उद्धार गरेको छ ।

यो घटना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हर्मुज जलडमरूमध्यमा जहाजलाई निशाना नबनाउन र माइन नबिछ्याउन इरानलाई चेतावनी दिएको केही समयपछि भएको बताइएको छ । इरानी पक्षले भने थाइल्याण्डको झण्डा बोकेको जहाजले आफ्ना आदेश बेवास्ता गरेको कारण त्यसलाई निशाना बनाइएको दाबी गरेको छ । इरानले हर्मुज जलडमरूमध्यबाट गुड्ने सबै जहाजले आफ्नो अनुमति लिनुपर्ने भन्दै चेतावनी दिएको छ ।

इरानले अमेरिका र उसका सहयोगी देशहरूलाई पनि उक्त जलडमरूमध्य प्रयोग गर्न नदिने चेतावनी दिएको छ । विश्वको करिब २० प्रतिशत तेल आपूर्ति यही साँघुरो समुद्री मार्गबाट हुने भएकाले त्यहाँको सुरक्षा अवस्थाले विश्व ऊर्जा बजारमा ठूलो प्रभाव पार्ने देखिएको छ । इरानमा युद्ध चर्किदै गएसँगै हालैका दिनमा विश्व बजारमा कच्चा तेलको भाउमा तीव्र उतारचढाव आइरहेको छ । बिहीबार पनि तेलको अन्तरराष्ट्रिय बेञ्चमार्कको भाउ बढेर प्रतिब्यारेल सय डलर माथि उक्लिएको छ ।