
काठमाडौं । नवनिर्वाचित नेतृत्वलाई बधाई दिने क्रममा पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले व्यक्त गरेको शुभकामना सन्देशप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृतज्ञता प्रकट गरेका छन् । सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रधानमन्त्री शहबाज शरीफलाई मेन्सन गर्दै नेता शाहले पाकिस्तानलाई एक सुन्दर राष्ट्र र नेपालको एउटा अडिग मित्रको रूपमा स्मरण गरेका हुन् ।
आफ्नो संक्षिप्त तर अर्थपूर्ण सन्देशमा शाहले लेखेका छन्, ‘तपाईंको अनुग्रही शुभकामनाका लागि म सम्माननीय प्रधानमन्त्री शहबाज शरीफप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । पाकिस्तान सदैव अपार सुन्दरताको देश र एक अटुट मित्रको रूपमा रहेको छ। ‘
यसअघि पाकिस्तानी प्रधानमन्त्री शरीफले हालै सम्पन्न आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेता बालेन शाहसहित सिंगो पार्टीलाई बधाई ज्ञापन गरेका थिए । प्रधानमन्त्री शरीफले आफ्नो सन्देशमा नेपाली जनताले नयाँ र गतिशील नेतृत्वप्रति देखाएको विश्वासको प्रशंसा गर्दै यसलाई नयाँ परिवर्तनको लहरको रूपमा व्याख्या गरेका थिए ।
पाकिस्तानी राजदूतावासका अनुसार प्रधानमन्त्री शरीफले नेपाल र पाकिस्तानबीचको ऐतिहासिक र मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउन नवनिर्वाचित नेतृत्व र भावी सरकारसँग नजिक रहेर काम गर्ने इच्छा समेत व्यक्त गरेका छन् ।