
काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेस मासिन लागेको नभइ अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभएको छ ।
बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टी अब उठ्ने बाटोमा लागिसकेको दाबी गर्नुभयो । पार्टीको वर्तमान दुरावस्था र भविष्यका बारेमा पत्रकारहरूले राखेको प्रश्नको जवाफ दिँदै उहाँले काँग्रेसले इतिहासमा यस्ता अप्रत्याशित परिणामहरू पहिले पनि भोगेको स्मरण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस मासिन बाटोमा गएको होइन, अब उठ्ने बाटो शुरु गरिसक्यो । विगतका इतिहासका घटना हेर्ने हो भने पनि हामीले यस्तो अप्रत्याशित परिणाम नभोगेको होइन । नेपाली काँग्रेसका नेता, कार्यकर्ता र लोकतन्त्रमा विश्वास गर्ने शुभेच्छुकहरू आत्तिनुपर्ने कुनैपनि अवस्था छैन ।
नयाँ परिस्थितिमा नयाँ ढंगले सोच्ने, नयाँ दृष्टिकोण र विचार बनाउने बेला आएको छ । पार्टी संगठन र नीतिगत पक्षमा पनि नयाँ ढंगले प्रश्तुत हुने अवस्था सिर्जना भएको छ । हामी पार्टीलाई नयाँ ढंगले रिस्ट्रक्चरिङ (पुनर्संरचना) गर्छौँ र यस विषयमा गम्भीर छलफल हुनेछ ।’
उहाँले बदलिएको परिस्थितिअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । विशेष महाधिवेशनलाई आफूहरूले अहिलेसम्म उचित नठानेको स्पष्ट पार्दै उहाँले सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला छिटो आओस् भन्ने चाहना व्यक्त गर्नुभयो । उहाँले पार्टीको आन्तरिक विषयमा बिस्तारै र गम्भीर रूपमा छलफल गर्दै निष्कर्षमा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।